मधेस प्रदेश सभामा प्रतिपक्षी दलको अवरोध कायमै, चौथो दिन पनि स्थगित

असार २५, २०८२

कमलेश ठाकुर

The opposition party's obstruction in the Madhes state assembly continues, adjourned for the fourth day

जनकपुरधाम — मधेस प्रदेशसभा बैठकमा प्रतिपक्षी दलको अवरोध कायमै रहेको छ । बुधबार बसेको प्रदेशसभा बैठकमा प्रतिपक्षी दलहरूले आगामी आर्थिक वर्षको बजेटमा बिचौलिया हाबी रहेको भन्दै विरोध जनाएपछि सभामुख रामचन्द्र मण्डलले बैठक बिहीबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरेका हुन् ।

बुधबार (आज) १ बजेका लागि बोलाइएको बैठक ३ बजेसम्म पनि बस्न नसकेपछि उक्त बैठकलाई स्थगित गर्दै ३ बजेर १० मिनेटमा बोलाइएको थियो तर करिब पौने ४ बजे बसेको बैठक समेत चल्न सकेको छैन । बैठक सुरु भएको चार मिनेटमै बैठक सभामुखले बिहीबार १ बजे सम्मको लागि स्थगित गरेको हो ।

जनता समाजवादी पार्टीका प्रमुख सचेतक रामअशिष यादवले प्रदेशसभा बैठकमा सत्तापक्षकै सांसदहरू अनुपस्थित रहेकाले उनीहरू पनि यस बजेट प्रति असन्तुष्ट रहेको बताए । 

बुधबार बैठक सञ्चालनका लागि सर्वदलीय बैठक बोलाइएको थियो । उक्त बैठक निष्कर्षविहीन रहेको थियो । बजेटको विषयमा छानबिन गर्न सभामुख रामचन्द्र मण्डलले कार्यदल बनाउन प्रस्ताव गरेपनि सरकार पक्षले त्यसलाई अस्वीकार गरेका थिए । 

असार १ गते मधेस सरकारले बजेट प्रस्तुत गरेपछि असार ११ गते बसेको बैठकमा करिब २३ मिनेट बजेटमाथि छलफल भएयता प्रदेशसभा बैठक सञ्चालन हुन सकेको छैन । बैठक चार पटक आह्वान भएपनि प्रतिपक्ष दलका सांसदहरूले निरन्तर अवरुद्ध गर्दै आएका छन् । 

कमलेश कमलेश कान्तिपुरका धनुषा संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully