आशिकुडाको समस्याले वीरगन्ज भन्सारको आन्तरिक कार्य प्रभावित

असार २४, २०८२

शंकर आचार्य

Ashikuda problem affected the internal working of Birganj customs

पर्सा — मुलुकको सबैभन्दा ठूलो वीरगन्ज भन्सार कार्यालयमा एक महिनादेखि आशिकुडा सर्भर प्रणालीमा आएको समस्याले भन्सारको आन्तरिक कार्य प्रभावित भएको छ ।

एकीकृत सुरक्षा जाँच चौकी सन्चालनको जिम्मेवारी बोकेको ट्रान्स हिमालयन लजी पार्कका प्रबन्धक गणेशप्रसाद घिमिरेले आशिकुडाको लिंकमा आएको समस्याले कम्पनीको कामकाज पूर्ण रूपले प्रभावित भएको बताए । 

प्रायः बिहान ६ देखि दिउँसो १२ बजेसम्म र साँझ ६ देखि बिहान ६ बजेसम्म लिंक ठिक हुने तर कामको बढी चाप हुने मुख्य समय मध्याह्न १२ देखि साँझ ६ बजेसम्म लिंक पूर्णा रूपले डाउन रहने भएकाले सेवाग्राहीलाई समयमा सेवा दिन नसकिएको उनले बताए । 

दिनभरि काम गर्न नपाइने र साँझ परेपछि लिंक आउने भएकाले सेवाग्राहीको काम साँझमा गर्नुपर्ने बाध्यता रहेको उनले बताए । भन्सार अधिकृतहरू साँझ ६ बजेपछि कार्यालयबाट निस्कने तर सेवाग्राहीको काम भने साँझमा गर्नुपर्ने अवस्था रहेको उनले बताए । ‘कतिपय दिन साँझ काम नभएपछि सेवाग्राहीलाई भोलिपल्ट बोलाएर काम सम्पन्न गर्नुपर्ने अवस्था हुन्छ,’ उनले भने, ‘सेवाग्राहीले यो प्राविधिक समस्या बुझ्दैनन्, हामीलाई गाली मात्र गर्छन् ।’ 

कम्पनीको प्रयास भन्सारबाट जाँचपास गराएर बाहिरिन खोज्ने मालवाहक सवारीलाई सोही दिनको साँझ बाहिरिने वातावरण बनाउने रहने गरेको तर सर्भरमै आउने समस्याले त्यो सम्भव नहुने गरेको उनले बताए । 

विश्वका १ सय बढी देशका भन्सारमा यो सर्भर सन्चालनमा रहेको छ । वीरगन्ज भन्सार कार्यालयले कम्पनीको ईआरपी सर्भरलाई वीरगन्ज भन्सारले आफ्नो आशिकुडा लिंकमा जोड्न इन्टरलिंक दिएको उनले बताए । ४ महिनाअघि पनि यो समस्या आएकामा त्यति बेला कुनै अन्तर्राष्ट्रिय प्राविधिक आएर यो समस्या समाधान गरेर गएको उनले बताए । हाल भने १ महिना २ दिन भई सक्दा पनि समस्या समाधान नभएको उनले गुनासो गरे । यो समस्याबारे भन्सार विभागलाई कम्पनीले औपचारिक जानकारी गराए पनि समस्या समाधान नभएको उनले बताए । 

हाल वीरगन्ज भन्सारबाट दैनिक सात सयको हारहारीमा मालबाहक सवारी साधन जाँचपास भएर बाहिरिने गरेका छन् । वीरगन्ज भन्सार एजेन्ट संघका अध्यक्ष राजमान तामाङले एक महिनादेखि आशिकुडामा समस्या देखिएको तर समाधान नभएको गुनासो गरे । ‘हामीले वीरगन्ज भन्सारका प्रशासक दीपक लामिछानेलाई यो समस्याबारे अवगत गरायौं,’ उनले भने, ‘उहाँले छिट्टै समस्या समाधान हुन्छ भनी आश्वासन दिनुभएको छ ।’ भन्सार एजेन्ट महासंघमार्फत भन्सार विभागमा आफूहरूको गुनासो राखेको पनि उनले बताए । 

वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकृत अमित तिवारीले आशिकुडा सर्भरमा दाबी गरिएजस्तो ठूलो समस्या नआएको जिकिर गरे । आइतबार दिउँसो करिब अढाई घण्टा भने प्राविधिक समस्या देखिएको उनले स्वीकारे ।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully