कार्यालयका सब–इन्जिनियरसहित आठ थान फाइल बरामद
राजविराज — पर्यटन विकास कार्यालय लहान, सिरहाले सप्तरीको राजविराज नगरपालिका–८ स्थित शुभलक्ष्मी इन्जिनियरिङ्ग कन्सल्टेन्सीबाट कमिसन उठाउने गरेको खुलेको छ ।
स्थानीय उपभोक्ता समितिले गरेको उजुरीका आधारमा सोमबार जिल्ला प्रशासन कार्यालयको टोलीले कन्सल्टेन्सीमा छापा मार्दा कार्यालयका सब–इन्जिनियरसहित आठ थान फाइल बरामद भएपछि सो विषय खुल्न आएको हो ।
कार्यालयका सब–इन्जिनियर सुरेन्द्रकुमार यादवलाई नियन्त्रणमा लिएको छ भने बरामद गरिएका केही फाइलमा सरकारी छापसमेत लागेको छ । ती कागजात कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय सिरहा पठाइएको जिल्ला प्रशासन कार्यालय सप्तरीका सूचना अधिकारी जितेन्द्रकुमार पासवानले बताए । ‘कर्मचारी र कन्सल्टेन्सीबारे छानबिन भइरहेको छ,’ उनले भने ।
टोलीले सब–इन्जिनियर यादवले चढ्ने गरेको बीएसी ६९७० नम्बरको स्कर्पियो र को८प ७२१२ नम्बरको मोटरसाइकल पनि लगेको छ । टोली कन्सल्टेन्सीमा पुग्नासाथ सब–इन्जिनियर यादव, कन्सल्टेन्सका कर्मचारी श्याम दास र उपभोक्ता समितिका पदाधिकारी भाग्न खोजेका थिए । टोलीका कर्मचारी र प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएका हुन् ।
कार्यालयका प्रमुख वसन्तकुमार दासले भने मोबाइल ‘स्विचअप’ गरेका छन् । उनको पनि घर राजविराज नै हो । स्थानीय आशा दासको नाममा रहेको सो कन्सल्टेन्सीबाट असार लागेदेखि नै कमिसन लिँदै भुक्तानीको लागि फाइल तयार हुँदै आएको छ । कान्तिपुरलाई प्राप्त ‘भिडियो क्लिप’ अनुसार सब–इन्जिनियर यादवले उपभोक्ता समितिसँग ‘बार्गेनिङ’ गरी एक लाख २० हजार रुपैयाँ उठाइसकेपछि भुक्तानी गरिदिन कार्यालय प्रमुख दासलाई जानकारी गराएका हुन् ।
उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय, मधेश प्रदेशका प्रवक्ता कमलेशकुमार मिश्रले कार्यालय प्रमुख दासको बदमासी देखिए कारबाही हुने बताए । ‘त्यसरी गर्न नहुने हो तर गरेको रहेछ भने कारबाही हुन्छ,’ उनले भने, ‘म अहिले बाहिर छु, मन्त्रालय गएपछि थप बुझ्नेछु ।’
