सिरहा — सिरहाको गोलबजार नगरपालिका-७ चोहर्वास्थित जनता नमूना माध्यमिक विद्यालयमा अध्ययनरत छात्रामाथि शिक्षकबाटै यौन दुर्व्यवहार हुने गरेको घटना सार्वजनिक भएको छ ।
विद्यालयका शिक्षक हरि श्रेष्ठले विद्यालयमा अध्ययनरत छात्राहरूमाथि यौन दुर्व्यवहार गर्ने गरेको घटना बाहिरिएको हो । तर, विद्यार्थी र अभिभावकले विद्यालयमा पटकपटक गुनासो गर्दापनि कुनै सुनुवाइ नभएपछि आक्रोशित बनेका स्थानीय अभिभावक सोमबार विद्यालयमै पुगेर प्रदर्शन गरेका छन् ।
प्रदर्शनकारीहरूले त्यसक्रममा विद्यालयमा ढुंगामुढासमेत गरेका छन् ।
विद्यालयमा कक्षा ५ मा अध्ययनरत १३ वर्षीया एक दलित समुदायकी छात्राले सुरुमा केही समयअघि विद्यालयकै एक शिक्षिकासमक्ष यसबारे गुनासो गरेकी थिइन् । आइतबार उनकी आमा आफैं विद्यालयमा आएर प्रधानाध्यापक ब्रम्हदेव सिंहसहित अन्य शिक्षक कर्मचारीलाई पनि यसबारे बताएकी थिइन् ।
यो घटनाका विषयमा विद्यालयमा गाइँगुइँ चलेपछि थप छात्राले पनि शिक्षकबाट यौन दुर्व्यवहार भएको बताएका छन् । शिक्षक श्रेष्ठले लामो समयदेखि आफूहरूमाथि यौन दुर्व्यवहार गर्ने गरेको उनीहरुको आरोप छ ।
एक छात्राका अनुसार, यसरी यौन दुर्व्यवहारमा पर्नेमा कम्तीमा १० जनाभन्दा बढी विद्यार्थी छन् ।
शिक्षक श्रेष्ठले अश्लील कुरा गर्ने, गोप्य अंग छोइदिने गरेको एक छात्राले बताइन् । 'हामीले लाज र डरले त्यति खुल्न सकेनौं,' एक छात्राले कान्तिपुरसित भनिन्, 'तर, श्रेष्ठ सरको चालचलन ठीक छैन भनेर पटक पटक गुनासो गर्दा पनि केही सुनुवाइ भएन ।'
आरोपित शिक्षक श्रेष्ठ एमाले स्थायी समिति सदस्य एवं सांसद लीलानाथ श्रेष्ठको नातामा मामा पर्छन् । उनीमाथि यसैकारण कसैले कुनै किसिमको कारबाही गर्न नसकेको अभिभावक बताउँछन् ।
'उनी त्यहाँका सामान्य शिक्षक भएपनि सबैभन्दा शक्तिशाली छन्,' स्थानीय रमेश महतोले भने, 'यसैको आडमा उनले जे गरे पनि छुट छ, यो अत्याचार हो, यसको गहिरो अनुसन्धान हुनुपर्छ, शिक्षक श्रेष्ठमाथि कडा कारबाही हुनुपर्छ ।'
प्रहरीले अभिभावक तथा विद्यार्थीको प्रदर्शनपछि शिक्षक श्रेष्ठलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । पीडित छात्राहरूको स्वास्थ्य परीक्षणका लागि सिरहास्थित प्रादेशिक अस्पताल ल्याइएको र त्यसका आधारमा कानुनी प्रक्रिया अगाडि बढ्ने प्रहरीले जनाएको छ ।
सिरहाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अनन्तराम शर्माका अनुसार, यौन दुर्व्यवहारमा परेको भनिएका ४ जना छात्रालाई स्वास्थ्य परीक्षणका लागि पठाइएको छ ।
यस विषयमा विद्यालयका प्रधानाध्यापक सिंहसँग प्रतिक्रिया लिन खोज्दा सम्पर्क भएन ।
