मधेश प्रदेशसभामा प्रतिपक्षको अवरोध :  बजेट पुनर्लेखन नगरे बैठक चल्न नदिने चेतावनी 

असार २२, २०८२

कमलेश ठाकुर

Obstacles of opposition in Madhesh state assembly:  Warning that the meeting will not be allowed if the budget is not rewritten

जनकपुर — मधेश प्रदेशसभा बैठक प्रतिपक्षी दलहरूले अवरुद्ध गरेका छन् । आइतबार बसेको बैठक जनता समाजवादी पार्टी (जसपा)सहित ६ दलका सांसदहरूले अवरुद्ध गरेका हुन् ।

बजेट संशोधनको माग राख्दै बैठक अवरुद्ध गरिएको जसपाका प्रमुख सचेतक रामआशिष यादवले जानकारी दिए । जनताले पनि सरकारको बजेट नरुचाएको भन्दै बजेट पुनः लेख्नुपर्ने माग उनले गरे ।

‘यो सरकारले पहिलो बजेट ल्याउँदा 'ह्याक' भएको भनिएको थियो । अहिले सत्तापक्षका सांसद र सरकारको नेतृत्व गरिरहेको दलका अध्यक्षले बजेटमा विचलन देखिएको प्रभाव परेको बताइरहेका छन्,’ उनले भने, ‘त्यसकारण यो बजेट पूर्ण रूपमा असमावेशी छ । पुनः लेखिएन भने सदन चल्न दिइने छैन ।’

नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक कनिस पटेलले बजेटमा बिचौलिया हाबी भएकाले पुनर्लेखन नभएसम्म सदन चल्न नदिने चेतावनी दिए । नेकपा (माओवादी केन्द्र)का नेता युवराज भट्टराईले पनि बजेट पुनः लेख्नुपर्ने माग राखे ।

जसपा, माओवादी केन्द्र, नेकपा (एस), नागरिक उन्मुक्ति, राप्रपा र नेपाल संघीय समाजवादी पार्टीका सांसदहरूले बैठक अवरुद्ध गरेका हुन् । सांसदहरूले बैठक अवरुद्ध गरेपछि सभामुख रामचन्द्र मण्डलले बैठक सोमबार दिउँसो १ बजेसम्मका लागि स्थगन गरेका छन् । 

कमलेश ठाकुर कमलेश कान्तिपुरका धनुषा संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully