सिटी सफारीको ठक्करले पैदलयात्रीको मृत्यु

असार २१, २०८२

विद्यानन्द राम

Pedestrian dies after being hit by City Safari

राजविराज — सप्तरीको छिन्नमस्ता गाउँपालिका–१ बरही बिरपुरमा सिटी सफारीले ठक्कर दिँदा एक जना पैदलयात्रीको मृत्यु भएको छ।

राजविराजबाट लोखरमतर्फ गइरहेको स १ ह ९०९ नम्बरको सिटी सफारीले शुक्रबार राति जिल्लाको विष्णुपुर गाउँपालिका–४ कन्कट्टाका ४० वर्षीय कुशेश्वर मरिकलाई ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते भएका मरिकलाई उपचारको लागि राति नै गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याइँदा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

प्रहरीले सिटी सफारी नियन्त्रणमा लिएपनि चालक भने फरार छन् । मृतकका परिवारले शनिबार सिटी चालकमाथि कर्तव्य ज्यान मुद्दामा जाहेरी दिएका छन् । उनीहरुले राति लाइट नै नबालि सिटी चलाइरहेका कारण दुर्घटना भएको र दुर्घटनापछि चालकलाई भगाउन प्रहरीले सघाएको आरोप लगाए ।

दुर्घटनास्थलदेखि डेढ किलोमिटरकै दुरीमा प्रहरी चौकी बरही बिरपुर छ । तर, दुर्घटनाको बेलै प्रहरी पुग्दा पनि चालकलाई पक्राउ नगरेको मृतक परिवारको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी जितेन्द्रकुमार बस्नेतले सिटी चालकको खोजी कार्य भइरहेको बताए । ‘शव पोष्टमार्टमपछि परिवारको जिम्मा लगाइसकेका छौं’ उनले भने, ‘दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ ।’

विद्यानन्द विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully