सिरहामा घरबाटै लागूऔषधको कारोबार, ब्राउन सुगर र नगदसहित दुई जना पक्राउ

असार २०, २०८२

विनय आजाद

Two arrested with drug dealing, brown sugar and cash from home in Siraha

सिरहा — सिरहा प्रहरीले लागूऔषध ब्राउन सुगर र नगदसहित दुई जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय, लहानको टोलीले बिहीबार लहान नगरपालिका-११ पडरिया टोलबाट दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा स्थानीय २८ वर्षीय मिथलेशकुमार चौधरी र अन्दाजी वर्ष २४ का राजनन्दन चौधरी छन् । उनीहरू दुवैलाई अपराह्न मिथिलेशको घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, सिरहाले जनाएको छ ।

मिथिलेशको घरबाट लागूऔषधको कारोबार हुँदै आएको सूचनाका आधारमा प्रहरीको टोली त्यहाँ पुगेको थियो । त्यसक्रममा १ सय २४.६२ ग्राम ब्राउन सुगर, २ लाख ८६ हजार ७ सय १० नेपाली र १२ सय ५० भारतीय रुपैयाँ नगद बरामद भएको हो ।

प्रहरीका अनुसार, त्यस घरबाट एक थान डिजिटल तराजु, एक थान कैँची, २ थान मोबाइल, सुनको तिलहरी एक थान, नेकलेस एक थानसमेत बरामद भएको छ । उनीहरूमाथि थप अनुसन्धान भइरहेको सिरहाका प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानले बताए ।

विनय आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully