लागूऔषध मुद्दाका फरार प्रतिवादी बर्दिबासबाट पक्राउ

असार २०, २०८२

सन्तोष सिंह

Fugitive accused of drug case arrested from Bardibas

महोत्तरी — बर्दिबासबाट प्रहरीले लागूऔषध (गाँजा) मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । शुक्रबार दिउँसो बर्दिबास नगरपालिका-३ स्थित बर्दिबास सिन्धुली सडकखण्डमा बर्दिबासबाट सर्लाहीतर्फ जाँदै गरेका सर्लाही हरिवन नगरपालिका-३ का ३६ वर्षीय फेकन साह तेलीलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायव उपरीक्षक बिकास बमले बताए । 

लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिबास र इलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको संयुक्त प्रहरी टोलीले लागूऔषधमुद्दाका फरार प्रतिवादी तेलीलाई नियन्त्रणमा लिएको बमले बताए । अनुसन्धानको सिलसिलामा पक्राउ परेका प्रतिवादी हरिवन-३ डाबरीका लालबाबु साह र अभिषेक परियारले गरेको बयानका आधारमा जिल्ला अदालत महोत्तरीबाट पक्राउ अनुमति जारी भई फरार सूचीमा रहेका तेलीलाई शुक्रबार पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक हेरम्ब शर्माले बताए । तेलीलाई इलाका प्रहरी कार्यालय बर्दिबासको हिरासतमा राखी थप अनुसन्धान भइरहेको शर्माले बताए । 

जेठ १३ गते मध्यराति बर्दिबास–१ स्थित शुभ स्वस्तिक हस्पिटलअगाडि पूर्व–पश्चिम राजमार्गमा पूर्वतर्फ आउँदै गरेको भारतीय स्कार्पियोमा बा ११ च. ३४९४ नेपाली नम्बर लगाएर ३० पोकामा १५८ किलो गाँजा ल्याउँदै गर्दा लालबाबु साह र अभिषेक परियार पक्राउ परेका थिए । बरामद गाँजा बोक्ने दुई जना पक्राउ परे पनि मुख्य कारोबारी रहेका तेली फरार थिए । अनुसन्धानको क्रममा तेली गाँजा कारोबारी भएको बयान पक्राउ परेका दुवै जनाले दिएका थिए । 

पक्राउ परेका तेली मधेश प्रदेशको जिल्लाहरुबाट भारत गाँजा तस्करी गराउने गिरोह सञ्चालन गर्दै आएको प्रहरी श्रोतको दाबी छ । सर्लाही, महोत्तरी र धनुषासहित अन्य जिल्लाका प्रहरीहरुले समेत तेलीलाई निगरानीमा राखेका थिए ।

सन्तोष सिंह सिंह कान्तिपुरका महोत्तरी संवाददाता हुन् ।

Link copied successfully