रोकिएन हत्या–हिंसाको शृंखला, निसानामा दलित महिला

तीन महिनामा दुईको हत्या, एक बलात्कृत र एक जनामाथि बलात्कार प्रयास

असार १९, २०८२

विद्यानन्द राम

Unstoppable murder-series of violence, Dalit women targeted

राजविराज — गत वैशाख २ मा सिरुवा पर्व परेको थियो । बिहानैदेखि मान्यजनबाट आशीर्वाद थापेर गाउँले पर्व मनाउन व्यस्त थिए । गाउँमा हर्षोल्लास थियो । घरघरमा मिठोमसिनो पाक्न सुरु भइसकेको थियो । अष्टयाममा सहभागी हुन राति लहान पुगेकी रामवतीदेवी राम पनि पर्वको तयारी गर्न झिसमिसेमै घर फर्किन् । घरमा सुतेकी छोरी नदेखेपछि उनी आत्तिइन् ।

छरछिमेकतिर खोज्न थालिन् । कतै फेला नपर्दा छोरीलाई केही भयो कि भन्ने सोच्दै सशंकित भइन् । उनी सशंकित हुने करण थियो, उनकी १८ वर्षीया छोरी पूजाकुमारी राममाथि तीन वर्षअघि भएको बलात्कार प्रयासको घटना । 

पूजामाथि तीन वर्षअघि भएको बलात्कार प्रयास घटनामा सप्तरी जिल्ला अदालतले ८ महिना कैद र ७ हजार रुपैयाँ जरिवानाको फैसला सुनाए पनि दोषी फरार रहँदा फेरि हिंसामा पर्न सक्ने त्रासले पूजा तीन वर्षदेखि विद्यालय जानसमेत छाडेकी थिइन् । 

वैशाख २ मा रामवतीदेवी घरदेखि करिब एक किलोमिटर टाढा दक्षिण–पूर्वतर्फ तीनगछिया भन्ने ठाउँमा पुग्दा पूजाको शव फेला पारिन् । उनी त्यहीं बेहोसजस्तै भएर ढलिन् । पातपतिंगरले छोपिएको अवस्थामा सप्तरीको सुरुङ्गा नगरपालिका–७ हरिपुर रामटोलकी पूजाको शव फेला परेपछि हत्या भएको भन्दै रामवतीदेवीले भोलिपल्ट प्रहरीमा जाहेरी दिइन् । त्यसअघि घटनास्थलमा पुगेका प्रहरीले प्रदेश प्रहरी कार्यालयबाट झिकाइएका तालिमप्राप्त कुकुरको सहायताले अनुसन्धान अघि बढायो । अनुसन्धानपछि प्रहरीले पूजाको हत्या भएको पुष्टि गरे । हत्याको तीन महिना बित्न लाग्दा पनि प्रहरीले अहिलेसम्म अपराधि पत्ता लगाउन सकेको छैन । 

पूजाको हत्या घटना सेलाउन नपाउँदै असार १२ सप्तरीमा राजगढ गाउँपालिका–४ पिप्रास्थित पोखरीको डिलमा घाँटी रेटिएको अवस्थामा ३२ वर्षीय राजकुमार खंगको शव फेला पर्‍यो । डाक्नेश्वरी नगरपालिका–८ का खंगको शव नग्न अवस्थामा फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनास्थल पुगेका प्रहरीले त्यहाँ पनि खंगको हत्या भएको पुष्टि गर्दै सूक्ष्म अनुसन्धान सुरु गर्‍यो । मधेश प्रदेश प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुरको सहायताले प्रहरीले अनुसन्धान गरिरहेको छ । ती घटनामा संलग्न रहेको आशंकामा प्रहरीले एक महिलालाई पक्राउ गरे पनि घटनाको कारण खुलाउन सकेको छैन । 

Unstoppable murder-series of violence, Dalit women targeted

अघिल्लो मंगलबारको राति उपचार गराउन अस्पताल पुगेकी सप्तरीको खडक नगरपालिका–८ विसनपुरकी सदा थरकी महिलामाथि स्वास्थ्यकर्मीबाटै बलात्कारको प्रयास भयो । पिसाब रोकिएर पेट दुख्न थालेपछि २१ वर्षीया ती युवतीलाई सोही ठाउँमा रहेको एडभान्स अस्पताल कल्याणपुर लगिएको थियो । करिब ११ बजेतिर उनलाई अस्पतालमा पुर्‍याएपछि ल्याब असिस्टेन्ट श्यामकुमार मण्डलले एक्स–रे कक्षमा लगेर बलात्कार प्रयास गरेको पीडित महिलाले बताइन् । एक्स–रे गर्नुपर्ने भन्दै त्यही कक्षमा मण्डलले गोप्य अंगमा हात हाली ओठ टोक्दै बलात्कारको प्रयास गरेको पीडित महिलाको भनाइ छ । घटनाको भोलिपल्ट असार ११ गते नै इलाका प्रहरी कल्याणपुरमा जाहेरी दिएपछि ल्याब असिस्टेन्ट मण्डललाई पक्राउ गरी थप म्याद लिई प्रहरीले अनुसन्धान गरिरहेको छ । 

उक्त घटनाको तीन दिन नबित्दै गत शुक्रबार सुरुंगा नगरपालिका–११ की अर्की सदा थरकै ३५ वर्षीया महिला आफन्तबाटै बलात्कृत भएकी छन् । झुक्याएर बिहुल खोला पुर्‍याएका सप्तरीको बलान बिहुल नगरपालिका–१ बलानपट्टीका ५० वर्षीय चन्देश्वर सदा र ४५ वर्षीय रामदेव सदाले बलात्कार गरेको ती महिलाले बताइन् । चन्देश्वर र रामदेव उनकै मामाका छोरा हुन् । राति करिब १२ बजेतिर घरमा आएका दुवै जनाले आमा बिरामी परेर अन्तिम सास लिइरहेको भनेपछि उनीहरूसँग निस्केकी थिइन् ।

बिहुल खोलामा पुगेपछि जबरजस्ती पालैपालो बलात्कार गरेको महिलाको आरोप छ । अबेर राति घरबाट निस्केकी आमाको सोधखोज गर्दै छोराले मामाघरमा फोन गर्दा आमातर्फको हजुरआमा बिरामी रहेको बुझिएपछि गाउँलेलाई साथमा लिएर उनी खोज्न निस्केका थिए । घरबाट करिब एक किलोमिटर दक्षिण बिहुल खोलामा पुग्दा आरोपी दुवै जना भाग्न थालेपछि गाउँलेको सहयोगमा नियन्त्रणमा लिइएको थियो । उनीहरूलाई इलाका प्रहरी कडरवोनाको जिम्मा लगाइएको वडाध्यक्ष रामकुमार चौधरीले बताए ।

दलित अभियन्ता भोला पासवानले राज्य संयन्त्रको दृष्टि नै फरक रहँदा दलितमाथि हत्या हिंसाका घटना बढेको बताए । ‘पूजाकै हत्या घटनाको तीन महिना हुन लाग्दा पनि प्रहरीले अपराधी पत्ता लगाउन नसक्नुलाई के भन्ने ?’ उनले भने, ‘प्रहरीको अनुसन्धान कमजोर भएको हो कि पैसा र पावर भएका अपराधीको संरक्षणमा लाग्दा ढिलाइ भएको हो ?’ दलितमाथि भएको एउटा घटनामा प्रहरी कमजोर भएर प्रस्तुत हुँदा अर्को घटना हुने गरेको अभियन्ता पासवान बताउँछन् । 

जिल्ला प्रहरी प्रवक्ता डीएसपी जितेद्रकुमार बस्नेतले दुवै हत्या घटनामा सीआईबीको टोलीले पनि अनुसन्धान गरिरहेको बताए । ‘बलात्कार घटनामा पनि दुवै जनामाथि अनुसन्धान भइरहेको छ,’ उनले भने, ‘हत्या घटनाको अनुसन्धान पनि छिट्टै टुंग्याउँछौं ।’

तीनगछियामा हत्या गरिएकी सुरुङ्गा नगरपालिका–७ हरिपुर राम टोलकी १८ वर्षीया पूजाकुमारी राम ।

विद्यानन्द विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully