जग्गा विवादमा जनकपुरधाममा ज्वाइँले गरे ससुराको हत्या

असार १८, २०८२

कमलेश ठाकुर

Son-in-law killed father-in-law in Janakpurdham over land dispute

जनकपुरधाम — जनकपुरधाम उपमहानगरपालिकामा ६५ वर्षीय वृद्धको चक्कु प्रहार गरी हत्या गरिएको छ। बुधबार बिहान जनकपुरधाम उपमहानगरपालिका–१५, कुवारामपुरका वासुदेव साहलाई उनकै ज्वाइँले जग्गा विवादका कारण चक्कु प्रहार गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ।

धनुषाका प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक वरुणबहादुर सिंहका अनुसार चक्कु प्रहारबाट गम्भीर घाइते भएका साहको उपचारको क्रममा साढे १० बजे प्रादेशिक अस्पताल जनकपुरधाममा मृत्यु भएको हो।

मृतकका ज्वाइँ, जनकपुरधाम–२१, कुर्थाका ४८ वर्षीय बेचन महासेठ घटना पछि फरार भएका छन्। उनको खोजी भइरहेको र घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको प्रवक्ता सिंहले जनाएका छन्।

कमलेश ठाकुर कमलेश कान्तिपुरका धनुषा संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully