जनकपुर — संघीय सरकारले उखु किसानको अनुदान कटौती गरेकोमा जनमत पार्टीले विरोध जनाएको छ । जनमत पार्टी मधेश समन्वय समितिले उखु किसानलाई वर्षौंदेखि संघीय सरकारले दिँदै आएको अनुदान निरन्तरताका लागि आवश्यक पहल गरिदिन बुधबार मुख्यमन्त्री सतिशकुमार सिंहलाई ज्ञापनपत्र बुझाएको छ ।
जनमत पार्टी मधेश प्रदेश समन्वय समितिका अध्यक्ष रामस्नेही यादवको नेतृत्वमा मुख्यमन्त्री सिंहलाई ज्ञापनपत्र बुझाउँदै संघीय सरकारले उखु किसानको अनुदान यस वर्ष कटौती गरेर समस्यामा रहेका किसानलाई थप प्रताडित गर्ने कार्य गरेको उल्लेख गरेको छ ।
मधेश प्रदेशमा ठूलो मात्रामा हुने उखु खेतीका लागि अनुदान कटौती गर्ने संघीय सरकारको कार्य भेद्भावपूर्ण र किसान विरोधी रहेको ज्ञापनपत्रमा उल्लेख छ । उखु किसानको अनुदानलाई निरन्तरताका लागि संघीय सरकारसँग आवश्यक पहलका लागि मुख्यमन्त्री सिंहलाई आग्रह गर्दै जनमत पार्टीले प्रदेश सरकारलाई किसानको पक्षमा उभिन आग्रह गरेको छ ।
ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री सिंहले उखु किसानको अनुदानको निरन्तरताका लागि सक्दो सबै पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।
