'संघीयता वरदान हो तर सिंहदरबारको नियन्त्रण हट्नुपर्छ'

केन्द्र सरकारले प्रदेश र स्थानीय सरकारलाई शाखा कार्यालयजस्तो ठानेको गुनासो

असार १८, २०८२

विनय आजाद

'Federalism is a boon but the control of the Singh Darbar must be removed'

सिरहा — नेपालमा संघीयता कार्यान्वयन भएको एक दशक भइसक्यो तर स्थानीय तहका जनप्रतिनिधिले अझै पनि सिंहदरबारको नियन्त्रण हट्न नसकेको गुनासो गरेका छन् ।

सिरहाको कल्याणपुर नगरपालिकामा मंगलबार र मिर्चैया नगरपालिकामा बुधबार सम्पन्न सार्वजनिक सुनुवाइ कार्यक्रममा उनीहरुले यस्तो गुनासो गरेका हुन् ।

संघीयतापछि मुलुकमा तीन तहको सरकार भए पनि केन्द्र सरकारले प्रदेश र स्थानीय सरकारलाई शाखा कार्यालयजस्तो ठान्दै आएको उनीहरूको गुनासो छ । केन्द्र सरकारको यस्तो रवैयाका कारण आफूहरूले सोचेअनुरुप नागरिकको अपेक्षा पूरा गर्न नसकिरहेको र यसै कारण नागरिकमा असन्तोष कायम रहेको उनीहरूले बताए ।

'कुनै बेला स-साना योजनाका लागि वर्षौं कुर्नुपर्ने र अनुनय विनय गर्नुपर्ने अवस्था हामीले देखेकै हौं, आज अवस्था फेरिएको छ, गाउँ-गाउँमै सरकार छ,' मिर्चैया नगरपालिकाका नगर प्रमुख श्रवणकुमार यादवले भने, 'तर, मुलुकमा थुप्रै संघर्ष र बलिदानपश्चात् यो व्यवस्था आए पनि नागरिकका अपेक्षाको आकार ठूलो छ, हामीले सम्भव भएसम्म गरेकै छौं, तर यो पर्याप्त भएन ।'

नेपालका लागि संघीयता वरदान भएको भन्दै उनले प्रदेश सरकार र स्थानीय सरकारले पर्याप्त स्रोतसाधन तथा अधिकार पाए बल्ल नागरिकले ठीकसित यसको अनुभूति गर्ने उनको भनाइ छ । 'हाम्रो मुलुकको हकमा संघीयता वरदान हो,' उनले भने, 'तर, हामीमाथि सिंहदरबारको नियन्त्रण हट्नुपर्छ, स्रोत साधन दिन र अधिकार प्रत्यायोजन गर्न केन्द्र सरकार गम्भीर हुनुपर्छ ।'

स्थानीय सरकार जनशक्ति अभावका कारण पनि खरो ढंगले अगाडि बढ्न नसकेको गुनासो उनीहरूले गरेका छन् । 'सरकारले केन्द्रमा कर्मचारी थन्क्याएर राख्छ तर हामीलाई पर्याप्त जनशक्ति दिँदैन, पाँच-दश जनाले गर्नुपर्ने काम एक जनाले गर्नुपरेको छ,' कल्याणपुर नगरपालिकाका नगर प्रमुख रामपुकार साहले भने, 'स्थानीय तहमा समस्या देखिनुको कारण एउटा यो पनि हो, तर भ्याएसम्म हामीले गरेका छौं ।'

स्थानीय तहमा स्रोत साधनको सीमितताका बाबजुद थुप्रै सकारात्मक काम भए पनि कहिलेकाहीँ कतिपय कानुनी र प्राविधिक कुरा बुझ्न नसक्दा समस्या देखिने गरेको कर्मचारी बताउँछन् । 'स्थानीय तहबाट थुप्रै सकारात्मक काम भएका छन् तर नियत खराब नभए पनि कार्य सम्पादनका क्रममा कानुनी र प्राविधिक कुरा बुझ्न नसक्दा कहिलेकाहीँ समस्या आउँछन्,' कल्याणपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादवले भने, 'यसप्रति सबै गम्भीर रहनुपर्छ ।'

केन्द्रमा सधैंभरि देखिएको अपारदर्शी र कुशासन अहिले स्थानीय तहमा देखा परिरहेको र यसले संघीयताको छविमा असर पुर्‍याइरहेको भन्दै यसमा सुधार गर्न सर्वसाधारणले सुझाव दिएका छन् । 'देशमा अहिले सुशासनको सवाल प्रमुख छ, सबैतिर भ्रष्टाचार र अनियमितताका घटना सुनिन्छन्, स्थानीय तहमा पनि उस्तै छ,' कल्याणपुरका किशोरी यादवले भने, 'यदि हामीलाई संघीयताको माया छ भने यसमा सुधार गर्नैपर्छ ।'

विनय आजाद आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully