महोत्तरी — मरहा नदी किनारमा उत्खनन् भएको खाल्डोमा नुहाउने क्रममा डुबेर ११ वर्षीया बालिकाको मृत्यु भएको छ।
गौशाला नगरपालिका वडा नं.१० जलिल टोल स्थित क्रसर उद्योगले उत्खनन गर्दा बनाएको खाल्डोमा डुबेर स्थानीय दिनेश मण्डलको ११ वर्षीया छोरी करिणा कुमारी मण्डलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक शैलेन्द्र कुमार भट्टले बताए ।
कालिबनि गिट्टी बालुवा प्रशोधन केन्द्र नजिकै मरहा नदी किनारमा ५/७ फिट गहिरो खाल्डोमा दुई जना बालिका एकै साथ नुहाउन जाँदा एक जनाको डुबेर मृत्यु भएको प्रहरी नायव उपरीक्षक भट्टले बताए । पहिले नै उत्खनन् भएको खाल्डोमा वर्षाको पानी जमेको थियो । बुधबार दिउँसो स्थानीय बालिकाहरु गार्मी छल्न जमेको पानीमा नुहाउन पुगेका थिए ।
बालिका डुबेर सिकिस्त भएपछि उपचारकालागि गौशाला प्राथमिक स्वास्थ्य केन्द्रमा लिएर जाँदा स्वास्थ्यकर्मीले मृत घोषणा गरेका थिए । मृतक बालिकाको शव पोष्टमार्टमका लागि बर्दिबास अस्पतालमा लगिएको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक उतम सिंह भण्डारीले बताए ।
