पर्सामा लागुऔषधका एक सय १४ मुद्दा दर्ता

असार १६, २०८२

रासस

One hundred and 14 drug cases registered in Parsa

पर्सा — पर्सामा लागुऔषध ओसारप्रसारका मुद्दा दर्तामा वृद्धि भएको छ । चालु आर्थिक वर्षको असार १२ गतेसम्मका अवधिमा जिल्लामा लागुऔषधसम्बन्धित एक सय १४ मुद्दा दर्ता भएका छन् । 

जिल्लाको एक सय सात किलोमिटर छिमेकीमुलक भारतसँग खुल्ला सीमा जोडिएकाले पनि लागुऔषधको तस्करीसम्बन्धित गतिविधि बढेको जनाइएको छ । पर्साका प्रहरी प्रमुख गौतम मिश्रले चालु आर्थिक वर्षको असार १२ गतेसम्म लागुऔषध कारोबारमा संलग्न रहेको जनाउँदै स्वदेशी तथा विदेशी गरेर एक सय ५१ जनालाई पक्राउ गरेको जानकारी दिए।

'लागुऔषधको ओसारपसारमा संलग्न रहेको भन्दै ९८ नेपाली पुरुष र  छ जना नेपाली महिला पक्राउ परेका छन्,' उनले भने, 'सोही अवधिमा ४५ विदेशी नागरिक र दुईजना विदेशी महिलासमेत सो कारोबारमा संलग्न रहेको जनाउँदै पक्राउ परेका हुन् ।' 

जिल्ला प्रहरी कार्यालय पर्साले चालु आवमा एक हजार पाँच सय ६१ किलो गाँजा पक्राउ गरेको छ । त्यस्तै  छ सय २५ किलो चरेश बरामद गरेको छ ।  त्यस्तै तीन सय ८४ ग्राम खैरो हिरोइन र साढे एक किलो अफिम बरामद गरेको छ ।  त्यस्तै गरी फेनारगन एक हजार चार सय ३३ एम्पुल, डाइजेपाम चार हजार चार सय ९९ एम्पुल, नुरफिन चार हजार चार सय ६४ एम्पुल बरामद गरेको छ । त्यस्तै ट्रामाडोल दुई लाख ८९ हजार दुई सय ७४ ट्याब्लेट बरामद गरेको छ ।

रासस

Link copied successfully