धान रोप्न नपाउँदा आक्रोशित बने किसान

असार १६, २०८२

विद्यानन्द राम

Farmers became angry after not being able to plant rice

राजविराज — छेउमै नहर बगिरहँदा पनि धान रोप्न नपाइरहेको भन्दै आक्रोशित बनेका सप्तरीको राजगढ गाउँपालिकाका किसानले जेसीबी लगाएर पश्चिमी कोशी नहरबाट पानी ल्याउने अभियान सुरु गरेका छन् ।

सिंचाइ अभावले करिब ५ सय बिघा जग्गा बाँझो रहने भएपछि उनीहरुले गाउँमा चन्दा उठाएर ल्याएको जेसीबीले सोमबार पश्चिमी कोशी नहर काट्न सुरु गरेका हुन् । राजगढ गाउँपालिका-३ स्थित पूर्वी र पश्चिमी नर्घो टोलको बीचमा रहेको सो जग्गामा किसानले अहिलेसम्म धान रोप्न पाएका छैनन् ।

सो जग्गामा डिप बोरिङ रहे पनि पानी नआउॅंदा उनीहरु सिंचाइबाट वञ्चित हुँदै आएका छन् । आक्रोशित बनेका किसानले राजगढ गाउँपालिका-३ स्थित पश्चिमी कोशी नहर काटेर पानी ल्याउन थालेका हुन् । 

किसानहरूले एक कठ्ठाबापत ५०/५० रुपैयाँ चन्दा उठाएर भारतीय अधिनमा रहेको सो नहर काट्न सुरु गरेका छन् । तर, सोही ठाउॅंमा पुगेका पश्चिमी कोशी नहरका कर्मचारीले भने नहर नकाट्न आग्रह गरिरहेका छन् । किसानले धान रोप्नुपर्ने वाध्यताका कारण यो सब गर्नुपरेको दुखेसो पनि सुनाए ।

विद्यानन्द विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully