पर्सा — वीरगन्ज बजारको मुख्य सडक बिस्तार गर्ने बहुप्रतीक्षित अभियान सोमबारबाट सुरु भएको छ । त्रिभुवन राजपथ अन्तर्गत वीरगन्ज महानगरपालिका–१६ भन्सार क्षेत्रबाट यो अभियान थालिएको हो । त्यहाँस्थित सुनिल केडियालगायतको जग्गामा रहेको राजमार्ग पश्चिमतर्फका पसल भत्काउन थालिएको हो ।
महानगरका मेयर राजेशमान सिंहले सोमबार बिहान ती संरचना भत्काउन निर्देशन दिएका थिए । उनले वीरगन्जको बजार क्षेत्रमा सडक बिस्तारबारे सर्वोच्च अदालतले गत फागुन २८ गते गरेको अन्तिम फैसला कार्यान्वयन गरेको बताए ।
अदालतको फैसला आइसकेपछि पूर्णपाठको प्रतीक्षा नगरिएको आरोपको सन्दर्भमा उनले कानुन व्यवसायीसँग सुझाव लिएर यो कदम चालिएको बताए । हाललाई नेपाल भारत सीमादेखि छपकैंया पोखरीसम्मका संरचना भत्काइने छ । त्यसपछि राजमार्गको पूर्वतर्फका संरचनामा भत्काउन थालिने छ । यो खण्डमा राजमार्गका दायाँबायाँ २५/२५ मिटर बिस्तार भएपछि मुख्य बजार हुँदै गण्डकसम्मको सडक बिस्तार गर्ने योजना रहेको मेयर सिंहले बताए ।
वीरगन्ज निवासी लक्ष्मण साह रौनियारलगायतले त्रिभुवन राजपथ बिस्तारको काम रोक्न २०७६ असोज ७ गते सर्वोच्चमा उत्प्रेषणको रिट निवेदन दिएका थिए । रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सडक डिभिजन हेटौंडा, व्यापारिकमार्ग बिस्तार योजना वीरगन्ज पथलैया, जिल्ला प्रशासन पर्सा, जिल्ला प्रहरी पर्सा, मालपोत कार्यालय पर्साविरुद्ध मुद्दा दायर गरिएको थियो ।
सडक डिभिजन कार्यालय हेटौंडा र व्यापारिकमार्ग विस्तार आयोजना कार्यालयले २०७६ को छठलगत्तै सडक विस्तार गर्ने तयारी गरे पनि स्थानीय घरधनीहरू बाधक बन्दै आएका थिए । २०७६ भदौमा कार्यालयले निकालेको १५ दिने सूचनाको म्याद सकिएपछि फेरि म्याद दिएर आयोजना कार्यालयले घरधनीलाई आफ्नो घर आफैँ भत्काउन आग्रह गरेको थियो । यस अवधिमा सडक बिस्तार आयोजनाले एक चरण नापीको कामसमेत सम्पन्न गरिसकेको छ । त्रिभुवन राजपथअन्तर्गत महानगरको गण्डक चोकदेखि पावर हाउस चोक, घण्टाघर, आदर्शनगर, रजतजयन्ती चोक, शंकराचार्यद्वार हुँदै मितेरीपुलसम्मको मुख्य सडक विस्तारको कामले अब गति लिने सम्भावना बढेको छ । तर राजमार्ग छेउ घरमा भएका स्थानीयले भने संघर्ष समिति नै गठन गरेर मुआब्जाको माग गर्दै सडक बिस्तारको विरोध गरिरहेका छन् ।
पथलैयादेखि सिमरा हुँदै जीतपुर र परवानीपुर बजारसम्म त्रिभुवन राजपथको दायाँबायाँ २५/२५ मिटर सडक बिस्तार भएर ६ लेन सडक निर्माण भइसकेको छ । तर महानगरको मुख्य सडक बिस्तारको काम दुई दशकदेखि अघि बढ्न नसक्दा वीरगन्ज सहर कुरुप नै रहन गएको छ ।
५ वर्षयता वीरगन्जमा साबिकको बाइपास सडक, इनर बाइपास सडक स्तरोन्नति भइसकेको छ । परवानीपुरदेखि सुक्खा बन्दरगाह चोकसम्म करिब ८ किलोमिटर ६ लेन सडक समेत निर्माण भइसकेको छ । त्यसबाहेक साबिकको बाइपासको पूर्वतर्फ पनि ८ किलोमिटर अर्को पक्की सडक निर्माण भइसकेको छ । त्रिभुवन राजपथ अन्तर्गत घण्टाघरदेखि नेपाल भारत सीमासम्म व्यस्त र भीडभाड रहने गरेकाले यो खण्डमा दिनमा धेरै पटक जाम हुने र पार्किङको पनि ठूलो समस्या रहेको छ ।
