श्रीमतीको हत्या गरी फरार रहेका व्यक्ति तीन वर्षपछि पक्राउ

असार १६, २०८२

शिव पुरी

The man who killed his wife and absconded was arrested after three years

रौतहट — श्रीमतीको हत्या गरी फरार रहेका एक जनालाई जिल्ला प्रहरी कार्यालय गौरबाट खटिएका प्रहरीले तीन वर्षपछि पक्राउ गरेका छन् ।

प्रहरीले फरार रहेकालाई शुक्रबार पक्राउ गरे पनि जिल्ला प्रहरीले सोमबार मात्रै सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालय गौरका डिएसपी दिपककुमार रायले २०७८ साल माघ २६ गते बिहान रौतहटको ईशनाथ नगरपालिका-४ मठिया टोलस्थित गहुँको खेतमा मृत फेला परेकी २० वर्षीया चाँदनी खातुनको हत्या अभियोगमा श्रीमान् फैयाद मिया मन्सुरीलाई पक्राउ गरेको जानकारी दिए ।

जिल्ला प्रहरीका अनुसार चाँदनीको शव घाँटीमा सलले बेरेर र मुखमा सल कोचेर हत्या गरिएको अवस्थामा फेला परेको थियो । 

घटनापछि फरार मन्सुरीलाई यही असार १३ गते गाउँमै पक्राउ गरी जिल्ला अदालत गौरबाट म्याद थपेर अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ । हत्या गरी फरार मन्सुर गाउँमा लुक्दै आएका थिए । प्रहरीले पटक/पटक पक्रने प्रयास गरेपनि उनी भाग्न सफल हुँदै आएका थिए ।

शिव पुरी उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully