बालिकाको बलात्कार र हत्या आरोपमा बर्दिबासमा दुई जना पक्राउ

असार १५, २०८२

सन्तोष सिंह

Two people were arrested in Bardibas on charges of rape and murder of a girl

महोतरी — बर्दिबासमा ६ वर्षीया बालिकालाई बलात्कार गरी हत्या गरेको घटनामा संलगन रहेको आरोप लागि फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

अपहरण, शरीर बन्धक र जबर्जस्ती करणी तथा कर्तव्य ज्यान मुद्दामा फरार श्रीमान् र श्रीमतीलाई प्रहरीले ४ वर्ष ७ महिनापछि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय महोतरीका प्रहरी उपरीक्षक हेरम्ब शर्माले बताए ।

२०७७ मंसिर ०७ गते बर्दिबास नगरपालिका–१४ की ६ वर्षीया गुलावसा खातुनलाई बर्दिवास नगरपालिका–१४ का २६ का अरुणकुमार साहले ललाइफकाइ आफ्नो घर लगी जबर्जस्ती करणी गरी हत्या गरेका थिए । 

घटना लगत्तै अरुणलाई प्रहरीले नियन्त्रणमा लिएर अपहरण, शरीर बन्धक, जबर्जस्ती करणी तथा कर्तव्य ज्यान मुद्दामा दर्ता गराएको थियो । हत्यामा संलग्न अरुणका बुबा ६० वर्षीय राजकिशोर साह र ५१ वर्षीया आमा शुशिला देवी फरार थिए । भारतमा लुकेर बस्दै आएका र नेपालमा आफन्तलाई भेट्न आएको अवसरमा फरार दुवै जनालाई नियन्त्रणमा लिएर अदालतमा पेश गरिएको प्रहरी उपरीक्षक शर्माले बताए ।

भारततर्फ बस्ने गरेको र उनीहरु आफन्तलाई भेट्न भारतीय सीमा जलेश्वर –१२ नैन्ही आएको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बर्दिवास महोत्तरी र जिल्ला प्रहरी कार्यालयबाट खटिएको संयुक्त प्रहरी टोलीले अपहरण, शरीर बन्धक, जबर्जस्ती करणी तथा कर्तव्य ज्यान मुद्दामा फरार श्रीमान्–श्रीमतीलाई नियन्त्रणमा लिएको शर्माले बताए । बालिकाको करणीपछि हत्या गरी बोराभित्र राखी झाडीमा लुकाउन अरुणलाई आमा र बुबाले सहयोग गरेको प्रहरी अनुसन्धानमा देखिएको छ ।

घटनालगत्तै पक्राउ परेका अरुणलाई ०७७ पुस ५ गते पुर्पक्षमा राखेर अनुसन्धान गर्न आदेश दिएको महोतरी जिल्ला अदालतका न्यायाधीश रामचन्द्र खड्काको इजलासले जन्मकैदको सजाय गरेको छ । 

सन्तोष सिंह कान्तिपुरका महोत्तरी संवाददाता हुन् ।

Link copied successfully