किसानलाई खेतमै तालिम

असार १५, २०८२

शंकर आचार्य

On-farm training for farmers

पर्सा — २२ औं राष्ट्रिय धान दिवसको अवसरमा पर्सा, बाराका किसानलाई आइतबार जलवायुमैत्री कृषि प्रविधिहरुबारे खेतमै तालिम दिइएको छ । कृषि औजार अनुसन्धान केन्द्र रानीघाट वीरगन्जले तालिम आयोजना गरेको हो । 

तालिममा किसानलाई धान बालीमा कृषि यान्त्रीकरणअन्तर्गत छरुवा र हिले छरुवा प्रविधिबारे केन्द्र परिसरस्थित खेतमै तालिम दिइएको हो । कार्यालयका प्राविधिक अधिकृत द्वारिकाप्रसाद चौधरीले तालिम दिएका थिए । 

उनले ड्रम सिडर मेसिनबाट सिंचाइ नगरिएको र गरिएको दुवै खेतमा धानको बिउ छरेर बिनारोपाइँ खेती गर्ने प्रविधिबारे किसानलाई स्थलगत प्रयोगात्मक जानकारी दिएका थिए ।

कार्यालयका इन्जिनियर सुनिल सहनीले जलवायुमैत्री कृषि प्रविधिको वर्तमान समयमा आवश्यक र महत्वबारे किसानलाई प्रशिक्षण दिएका थिए । उनले सिड ड्रिल उपकरणमा मल र बिउको मात्रा निर्धारण गर्ने तरिकाबारे किसानलाई स्थलगत प्रयोगात्मक प्रशिक्षण दिएका थिए ।

तालिममा सहभागी पर्साका अगुवा किसान पृथ्वी साह कानुले कृषि मजदुरको बढ्दो अभावका कारण यान्त्रीकरणको विकल्प नरहेको सन्दर्भमा धान दिवसको दिन किसानलाई खेतमै यान्त्रीकरणको तालिम दिनु सरहानीय रहेको बताए । उनले किसानलाई बन्द कोठामा भन्दा खेतमै प्रयोगात्मक तालिम दिँदा अत्यन्त उपयोगी हुने बताए ।

On-farm training for farmers

केन्द्रका प्रमुख, इन्जिनियर सचिनकुमार मिश्राले केन्द्रले आफै विभिन्न यन्त्रको आविष्कार तथा छिमेकी मुलुकबाट भित्रिने प्रविधिलाई पनि परीक्षणपछि सिफारिस गर्ने गरेकाले यान्त्रीकरणलाई बढावा दिने गरेको बताए । एक दशकयता जलवायु परिवर्तनको प्रभावले अनावृष्टि र अतिवृष्टिको समस्या भइरहेको तथा कृषि मजदुरको चरम अभाव हुँदै गएको सन्दर्भमा यान्त्रीकरणले किसानलाई शारीरीक, मानसिक र आर्थिक सबै दृष्टिले लाभ हुने भएकाले आउँदा दिनमा यान्त्रीकरण बाध्यता बन्न जाने मिश्रा बताउँछन् ।

तालिममा पर्सा र बाराका गरी १५ किसान सहभागी थिए ।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully