होमस्टे गाउँ सुवर्णपुर पुग्न सडक कालोपत्र

असार १४, २०८२

शंकर आचार्य

Road black to reach homestay village Suvarnapur

पर्सा — मधेश प्रदेशकै प्रमुख पर्यटकीयस्थल ठोरी गाउँपालिका-५ को होमस्टे गाउँ सुवर्णपुरलाई लक्षित गरी बाघमोर्चादेखि गम्हरियासम्म सडक कालोपत्र गरिएको छ ।

यसअघि गाउँभन्दा बाहिर हुलाकी सडकसम्म कालोपत्र भए पनि भित्री गाउँमा कच्ची सडक हुँदा होमस्टे आउने पाहुनालाई सकस भइरहेको थियो । 

सुनाखरी मध्यर्ती होमस्टे सुवर्णपुरका अध्यक्ष शम्भुराम पौडेलले संसदीय विकास कोषको योजनाअन्तर्गत उक्त सडक कालोपत्र गरिएको बताए । बहुवर्षीय योजनाअन्तर्गत यस वर्ष २ हजार ९ सय मिटर सडक कालोपत्र गरिएको छ । हाल निर्माण गरिएको सडकले होमस्टे गाउँलाई पूर्ण रुपले छोएको उनले बताए ।

होमस्टे समितिका पूर्वअध्यक्ष भीमबहादुर पाख्रिन ठोरीमा पछिल्लो समय सडक सञ्जाल विस्तारले पर्यापर्यटनमा ठूलो टेवा पुग्ने बताउँछन् ।

सुवर्णपुर गाउँमा एक दशक अघिदेखि होमस्टे सञ्चालनमा छन् । स्थानीयको अग्रसरतामा ५ घरबाट सुरु गरिएको होमस्टे अहिले १५ घरमा विस्तार भइसकेको छ । होमस्टे सञ्चालक समितिले सामुदायिक भवन, जिप सफारी, हात्ती सफारी, सांस्कृतिक नृत्य आदिको व्यवस्था गरेर आन्तरिक तथा बाह्य पर्यटकलाई घरबासको सुविधा उपलब्ध गराउँदै आएको छ । 

पर्सा राष्ट्रिय निकुञ्ज, विश्ववन्यजन्तु कोषको ताल कार्यक्रम तथा मधेश प्रदेश सरकारको सहयोग रहेको होमस्टे मधेश प्रदेशकै पहिलो होमस्टे हो । यहाँ स्वदेशी, भारतीय र तेस्रो मुलुकका पर्यटक उल्लेख्य संख्यामा आउने गरेका छन् ।

शंकर

Link copied successfully