पर्सा — वीरगन्जको प्रसिद्ध शक्तिपीठ गहवामाईको तेस्रो रथयात्रा शुक्रबार सम्पन्न भएको छ ।
गहवामाई तीर्थ क्षेत्र विकास समितिको आयोजनामा बिहान निकालिएको रथयात्रा गहवामाई मन्दिर प्रांगणबाट सुरु भई घण्टाघरबाट रेल्वे रोड हुँदै छपकैयाबाट आदर्शनगर भएर पुनः गहवामाई मन्दिर प्रांगणमा आएर सम्पन्न भएको हो ।
बाजागााजा, झाँकीसहितको रथयात्रामा श्रद्धालु भक्तजनको बाक्लो उपस्थिति थियो । रथयात्रा आषाढ शुक्ल पक्ष द्वितीया तिथिका दिन बर्सेनि निकालिन्छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता किशोर लम्सालले रथयात्रा शान्त र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको बताए ।
समितिले असार शनिबार ५६ भोग र भण्डारा (प्रसाद) वितरण कार्यक्रम गर्ने भएको छ ।
