वीरगन्जका दुवै भन्सारले वार्षिक राजश्व असुली लक्ष्य भेटाउनेमा आशंका

असार १२, २०८२

शंकर आचार्य

Doubts about meeting the annual revenue collection target of both customs in Birganj

पर्सा — लक्ष्य ठूलो हुँदा वीरगन्जस्थित दुवै भन्सार कार्यालयले चालु आर्थिक वर्षको वार्षिक राजश्व असुली लक्ष्य भेटाउन मुस्किल देखिएको छ । वीरगन्ज र सिर्सिया सुक्खा बन्दरगाहले जेठ महिनासम्ममा वार्षिक राजश्व असुलीको ८० प्रतिशत हाराहारीमा राजश्व संकलन गर्न सकेका छन् ।

वीरगन्ज भन्सार कार्यालयले चालु आवका लागि १ खर्ब ९९ अर्ब ३४ करोड ९९ लाख रुपैयाँ राजश्व असुलीको लक्ष्य पाएकोमा जेठ महिनासम्ममा १ खर्ब ५८ अर्ब ८२ करोड ७२ लाख ३४ हजार रुपैयाँ मात्र राजश्व संकलन गर्न सकेको छ । यो वार्षिक लक्ष्यको ७९ प्रतिशत मात्र हो ।

यता सिर्सिया सुक्खा बन्दरगाह भन्सारले चालु आवको जेठ महिनासम्ममा ५४ अर्ब ८५ करोड ७० लाख ९३ हजार रुपैयाँ राजश्व असुलीको लक्ष्य पाएकोमा जेठ सम्ममा ४८ अर्ब ६१ करोड ६८ लाख ४८ हजार रुपैयाँ मात्र राजश्व संकलन गर्न सकेको छ । 

यो जेठ महिना सम्मको लक्ष्यको ८३ दशमलव १६ प्रतिशत मात्र हो । यो भन्सारको वार्षिक राजश्व असुली लक्ष्य ६० अर्ब ४ करोड ८७ लाख ९७ हजार रुपैयाँ रहेको छ । जेठ महिनासम्ममा यो भन्सारले वार्षिक लक्ष्यको ७५ दशमलव ९७ प्रतिशत मात्र राजश्व संकलन गर्न सकेको छ ।

वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकृत अमित तिवारी यसवर्ष वार्षिक लक्ष्य पनि ठूलो रहेको बताउँछन् । ‘गत वर्षभन्दा यसवर्ष राजश्व बढी संकलन भएपनि यसको राजश्व असूली लक्ष्यनै ठूलो छ,’ उनले भने, ‘कच्चा पदार्थ र पेट्रोलियम पदार्थको आयात उत्साहजनक रहे पनि राजश्वमा बढी योगदान दिने तयारी वस्तुहरुको आयात भने यसवर्ष कम हुन गयो ।’

सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवाल यसवर्ष वार्षिक राजश्व असुलीको लक्ष्यको नजिक पुगे पनि लक्ष्य भेट्टाउन भने सम्भव नरहेको बताउँछन् । ‘यसवर्षको राजश्व असुली गत वर्षभन्दा बढी नै भइसकेको छ,’ उनले भने, ‘तर वार्षिक लक्ष्य भने ठूलो छ, त्यो भेट्टाउन सम्भव छैन ।’

दुवै भन्सार राजश्व संकलनको दृष्टिले मुलुककै पहिलो पाँच भन्सारमा पर्छन् । वीरगन्ज भन्सार नाकाबाट राजश्वमा योगदान गर्ने मुख्य वस्तुहरुमा नयाँ सवारी साधन र इन्धन हुन भने सिर्सिया सुक्खा बन्दरगाह भन्सार नाकाबाट राजश्वमा योगदान गर्ने मुख्य वस्तुमा फलामजन्य वस्तु र मदिरा हुन् । यी वस्तुको आयात घटन जादा राजश्व असूलीमा समेत कमी आउँछ ।

शंकर आचार्य आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully