पेस्तोल देखाएर ९ लाख लुटेको घटनाका प्रतिवादी पक्राउ 

असार १२, २०८२

विनय आजाद

Defendant arrested in the case of robbery of 9 lakhs by showing a pistol

सिरहा — सिरहा प्रहरीले बैंकका कर्मचारी र प्रहरीसमेतलाई पेस्तोल देखाएर रकम लुटपाट गरेको घटनाका एक प्रतिवादीलाई पक्राउ गरेको छ । कल्याणपुरस्थित ग्लोबल आइएमई बैंकको रकम लुटपाट घटनाका प्रतिवादीलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो । पक्राउ पर्नेमा उदयपुरको त्रियुगा नगरपालिका–१२ का ३० वर्षीय सुजन भन्ने सुजेन्द्र लोहनी रहेको जिल्ला प्रहरी कार्यालय, सिरहाले जनाएको छ ।

लोहनीलाई सीमावर्ती क्षेत्र सिरहा नगरपालिका–१७ खैरटोकाबाट पक्राउ गरिएको हो ।

२०७९ फागुन १० मा मिर्चैयास्थित बैंकको शाखाबाट ९ लाख रुपैयाँ बोकेर कल्याणपुर शाखा जाने क्रममा बैंकका कर्मचारी र सुरक्षार्थ खटिएका प्रहरीसमेत लोहनीसहित चारजनाको समूहले पेस्तोल देखाएर लुटपाट गरेको थियो ।

सिरहाका प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानका अनुसार, नम्बर नखुलेको दुई मोटरसाइकलमा आएका उनीहरूले इलाका प्रहरी कार्यालय कल्याणपुरमा कार्यरत प्रहरी जवान निकेश खवास र बैंकका ती कर्मचारीलाई कुटपिटसमेत गरेका थिए ।

घटनापछि उनी लुकीछिपी भारत बस्दै आएका थिए । लोहनीलाई आवश्यक कारबाहीका सिरहा जिल्ला अदालतमा पेस गरिएको डीएसपी पासवानले जानकारी दिए ।

विनय आजाद आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully