स्रोत नखुलेको १० लाखभन्दा बढी रकमसहित पक्राउ 

असार १२, २०८२

शिव पुरी

Arrested with more than 1 million undisclosed source

काठमाडौँ — रौतहटको सदरमुकाम गौरस्थित भन्सार गेट नजिक बिहीबार स्रोत नखुलेको रकमसहित एकजनालाई पक्राउ गरेको छ । उनको साथबाट प्रहरी टोलीले १० लाखभन्दा बढी रकम बरामद गरेको छ । 

गौर नगरपालिका–१ स्थित भन्सार कार्यालय अगाडि सडकमा विभिन्न सावारी र पैदलयात्रीहरुलाई रोकी जाँच गर्ने क्रममा गौर–१ ट्रान्सफर्मर चोकका ३० वर्षीय मोहम्मद करमानलाई १० लाख चार हजार पाँच सय नेपाली रुपैयाँसहित पक्राउ गरिएको जिल्ला प्रहरीका डीएसपी दिपककुमार रायले जानकारी दिए । 

भारतको बैरगनियाबाट नेपाल आउने क्रममा करमानले चलाएको बिआर ०५ एई ७०५ नम्बरको मोटरसाइकल रोकी चेक गर्दा सिट मुनि र हेल्मेटमा लुकाई राखेको अवस्थामा उक्त रकम फेला परेको डीएसपी रायले बताए । ‘हामीले उक्त रकम कहाँबाट ल्याएको र यसको स्रोत के हो भनेर कागजपत्र माग्दा दिन सकेन,’ उनले भने,‘स्रोत खुल्न नसकेको रकमबारे थप अनुसन्धान भइरहेको छ । मोटरसाइकल र रुपैयाँबारे अनुसन्धान पछि थप कारबाहीका लागि गौर भन्सार कार्यालय बुझाउँछौं ।’ 

सिमाक्षेत्रमा केही समययता स्रोत नखुलेको रकमको कारोबार बढेको पाइएको छ । 

शिव उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully