लागूऔषधसहित एक जना पक्राउ

असार ११, २०८२

शिव पुरी

One person arrested with drugs

काठमाडौँ — रौतहटको गौर नगरपालिका–३, बीपी चोकबाट जिल्ला प्रहरीको टोलीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।

भारतबाट नेपालतर्फ आउँदै गरेको ना १ ह ७८९३ नम्बरको ई–रिक्सालाई बीपी चोकमा रोकी चेकजाँच गर्दा चन्द्रपुर नगरपालिका–४ का २७ वर्षीय चालक अजय विकलाई लागू औषधसहित पक्राउ गरिएको जिल्ला प्रहरीका डिएसपी दीपककुमार रायले जानकारी दिए। मंगलबार दिउँसो पक्राउ परेका विकलाई प्रहरीले बुधबार सार्वजनिक गरेको छ।

विकले ई–रिक्सामा राखी सेतो रंगको प्लास्टिकभित्र हर्लिक्स लेखिएको निलो रंगको कुटको डब्बामा लुकाई ल्याउँदै गरेको प्रतिबन्धित लागूऔषध फेनेरागन इन्जेक्सन ११० एम्पुल, बुप्रेनोर्फिन इन्जेक्सन ११० एम्पुल, सेरेज्याक डाइजेपाम इन्जेक्सन ६४ एम्पुल र डाइजेपाम इन्जेक्सन ४६ एम्पुल बरामद गरिएको डीएसपी रायले बताए।

विकले उक्त सामान गौर–पोखरा चल्ने बसका कर्मचारीले भारतको बैरगनिया बाट आफूलाई गौरसम्म ल्याउन भाडा दिई पठाएको प्रहरीसमक्ष बताएका छन्।

विकको बयानपछि प्रहरीले बसका कर्मचारीलाई समेत पक्राउ गरेको छ। उनको नाम सार्वजनिक गरिएको छैन। बसका कर्मचारीलाई समेत मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले विक र उनको साथमा रहेको मोबाइल नियन्त्रणमा लिएको छ। घटनामा विकले आफूलाई बसका कर्मचारीले फसाएको बताएका छन्। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

शिव उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully