मुख्यमन्त्री सिंहको छड्के अनुगमनमा पक्राउ परेका तीन जनामाथि अभद्र व्यवहार मुद्दा

असार १०, २०८२

शंकर आचार्य

Indecent behavior case against three people who were arrested during the surveillance of Chief Minister Singh

काठमाडौँ — मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सोमबार साँझ वीरगन्जको सुख्खा बन्दरगाहदेखि परवानीपुरसम्मको सडकखण्डमा छड्के अनुगमन गरेका छन् ।

यस क्रममा अवैध रूपमा सवारी कर असुली गरेको आरोपमा नियन्त्रणमा लिइएका तीन जनामाथि अभद्र व्यवहार मुद्दा चलाइने भएको छ। पर्सा प्रहरीका प्रवक्ता डीएसपी किशोर लम्सालका अनुसार यस्ता घटनामा पक्राउ परेकाहरूमाथि यसै प्रकृतिको मुद्दा चलाइन्छ।

मुख्यमन्त्री सिंहको छड्के अनुगमनका क्रममा पक्राउ परेकाहरूमा वीरगन्ज महानगरपालिका–२४ का २९ वर्षीय आकाश पटेल, वीरगन्ज–२२ का २६ वर्षीय रुपलाल सहनी र बारा फेटा गाउँपालिका–४ का ४३ वर्षीय भरतप्रसाद साह रहेका छन्। सुख्खा बन्दरगाहदेखि परवानीपुरसम्मको सडकखण्डका विभिन्न स्थानमा राखिएका अस्थायी ढाटहरूमा अवैध असुली भइरहेको गुनासो आएपछि ती ढाटहरूमा अनुगमनको क्रममा खटिएको अवस्थामा तीन जनालाई तत्कालै पक्राउ गरिएको हो।

मुख्यमन्त्री सिंहले भारतबाट भित्रिने सवारीसाधन, विशेषगरी भारतीय गाडीहरूबाट तोकिएकोभन्दा बढी रकम असुली भइरहेको गुनासो बढेपछि छड्के अनुगमन गरेका थिए।

शंकर आचार्य आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully