वीरगन्जमा मुख्यमन्त्री सिंहको छड्के अनुगमन, अवैध असुली भइरहेको ढाटबाट तीन जना पक्राउ

असार १०, २०८२

शंकर आचार्य

In Birgunj, Chief Minister Singh's erratic monitoring, three people arrested from illegal extortion

पर्सा — मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सोमबार साँझ वीरगन्जको सुख्खा बन्दरगाहदेखि परवानीपुरसम्मको सडकखण्डमा छड्के अनुगमन गरेका छन् । त्यसक्रममा अवैध रूपमा सवारी कर असुली गर्ने तीन जनालाई नियन्त्रणमा लिइएको छ ।

मुख्यमन्त्री सिंहले भारतबाट भित्रिने सवारीसाधन, विशेषगरी भारतीय गाडीहरुमाथि तोकिएकोभन्दा बढी रकम असुली भइरहेको गुनासो बढेपछि अनुगमन गरेका हुन् ।

सुख्खा बन्दरगाहदेखि परवानीपुरसम्मको सडकखण्डका विभिन्न स्थानमा राखिएको अस्थायी ढाटमा अवैध असुली भइरहेको गुनासो आएपछि तीन जनालाई तत्कालै पक्राउ गरिएको थियो ।

पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालय पर्साको जिम्मा लगाइएको थियो । मुख्यमन्त्री सिंहले यस्ता गतिविधिमाथि प्रदेश सरकारको शून्य सहनशीलता अपनाउने बताए ।

‘जनताको गुनासो सुनिन्थ्यो, आज प्रत्यक्ष देखियो,’ छड्केपछि संक्षिप्त प्रतिक्रिया दिँदै मुख्यमन्त्री सिंहले भने, ‘अवैध असुली, बलजफ्ती कर र सीमापार सवारीसाधनमाथिको दुर्व्यवहार अब सह्य हुँदैन ।’

पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रले पक्राउ परेकाहरू सम्बन्धमा अनुसन्धान जारी रहेको र उनीहरुको नाम तथा अन्य विवरण पछि सार्वजनिक गरिने बताए ।

शंकर आचार्य आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully