वीरगन्ज महानगरको बजेट ३ अर्ब २२ करोड

वीरगन्जमा अलौ पर्व संग्रहालय र रेल्वे म्युजियम निर्माण गरिने

असार ९, २०८२

शंकर आचार्य

The budget of Birganj metropolis is 3 billion 22 crores

पर्सा — वीरगन्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ३ अर्ब २२ करोड ४८ लाख ४९ हजार रुपैयाँको अनुमानित बजेट ल्याएको छ ।

 सोमबार आयोजित वीरगन्ज महानगरपालिकाको नगर सभाको १७ औं अधिवेशनमा महानगरका उपमेयर इम्तियाज आलमले आगामी आर्थिक वर्षका लागि तीन अर्ब २२ करोड ४८ लाख ४९ हजार रुपैयाँको अनुमानित आय–व्ययसहितको बजेट प्रस्तुत गरेका हुन् ।

वीरगन्ज महानगरले आगामी आर्थिक वर्षका लागि चालु आर्थिक वर्षकोभन्दा झण्डै ३३ करोड बढी बजेट ल्याएको हो । चालु आर्थिक वर्षका लागि वीरगन्ज महानगरको बजेट २ अर्ब ८९ करोड ४८ लाख १७ हजार रुपैयाँको थियो ।

सोमबारको नगर सभामा उपमेयर आलमले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा चालू खर्चतर्फ दुई अर्ब २६ करोड ५० लाख ४९ हजार रहेको छ । यो कूल बजेटको ७० दशमलव २४ प्रतिशत हो । पुँजीगत खर्चतर्फ ९२ करोड ३४ लाख रुपैयाँ रहेको छ । यो कूल बजेटको २८ दशमलव ६४ प्रतिशत हो । वित्तीय व्यवस्थापनतर्फ तीन करोड ६४ लाख रहेको छ । यो कूल बजेटको एक दशमलव १२ प्रतिशत हो ।  

आगामी आर्थिक वर्षको बजेटमा अनुमानित खर्च व्यहोर्ने स्रोतहरुमा आन्तरिक राजश्वबाट एक अर्ब १५ करोड रुपैयाँ, संघीय अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट एक अर्ब ३७ करोड ३० लाख रुपैयाँ, संघीय राजश्व बाँडफाँटबाट २३ करोड ७८ लाख रुपैयाँ, प्रदेश अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट पाँच करोड २ लाख ८८ हजार रुपैयाँ, प्रदेश राजस्व बाँडफाँटबाट एक करोड ६७ लाख १३ हजार रुपैयाँ, घरजग्गा रजिस्ट्रेसन शुल्कबापत २५ करोड रुपैयाँ र नगद मौज्दाबाट १५ करोड व्यहोरिने उपमेयर आलमले बताए ।

नगर सभामा बजेट प्रस्तुत गर्दै उपमेयर आलमले आगामी आर्थिक वर्षको बजेटका प्राथमिकतामा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, सरसफाइ, वातावरण संरक्षण, गुणस्तरीय भौतिक पूर्वाधार र डिजिटलमैत्री सेवा प्रवाह रहेको बताए ।

त्यसअघि नगरसभामा महहानगरका मेयर राजेशमान सिंहले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । वीरगन्ज महानगरपालिकाको नीति तथा कार्यक्रममा वीरगन्जको पर्यटन प्रवर्द्धन गर्ने केही महत्त्वाकांक्षी योजनाहरु पनि समावेश गरिएका छन् । मेयर सिंहले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा वीरगन्जको पर्यटन प्रवर्द्धनका साथै शिक्षा, स्वास्थ्य, सरसफाइलाई प्राथमिकतामा राखिएको छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर सिंहले वीरगन्जमा अलौ पर्व संग्रहालय र रेल्वे म्युजियम निर्माण गरिने बताए ।

वीरगन्जको समकालीन इतिहासको सन्दर्भमा विशेष महत्त्व राख्ने अलौ पर्व वीरगन्ज महानगरपालिका–१७ अलौमा १९०४ साल साउनमा तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले तत्कालीन राजा राजेन्द्रविक्रम शाहलाई नियन्त्रणमा लिएको घटनाको स्मृति संरक्षण, अध्ययन तथा भावी पुस्तामा ऐतिहासिक चेतना प्रवाह गर्न वीरगन्ज महानगरले अलौ पर्व संग्रहालय निर्माण गरी त्यसमा अलौ पर्व सम्बन्धी ऐतिहासिक अभिलेख, सामग्री, चित्र, प्राकृतिक तथा दस्तावेजहरू राखिने मेयर सिंहले बताए ।

त्यस्तै, वीरगन्ज नेपालको पहिलो रेल सेवा रक्सौल–अमलेखगञ्ज रेल सेवा प्रारम्भ भएको ऐतिहासिक सहर भएको भन्दै मेयर सिंहले रेलवे सेवा स्थापना भएको एक सय वर्ष पूरा भएको अवसरमा पुराना रेल्वे संरचनाहरूलाई संरक्षण र पुनःप्रयोग गर्दै रेल्वे म्युजियम निर्माणको कार्य अगाडि बढाइने बताए । यस्तै, वीरगन्जको घण्टाघर आसपास वर्षौंदेखि खाली रहेको सार्वजनिक जग्गामा सुव्यवस्थित, हरित र आधुनिक बीपी उद्यान निर्माण गरिने योजनापनि नीति तथा कार्यक्रममा समावेश छ ।

यसैगरि, वीरगन्ज–२८ बगहीमा ‘महानगर नमुना अस्पताल’ निर्माण गर्ने,वीरगन्ज–२३ मा ‘सहुलियत दरको ल्याब सेवा (प्रयोगशाला)’ सञ्चालनमा ल्याइने, वीरगन्ज–१६ इनर्वामा बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल स्थापना गरिने, महानगर आफैंले ‘महानगर फार्मेसी’ सञ्चालनमा ल्याउने योजना पनि महानगरको नीति तथा कार्यक्रममा उल्लेख छ ।

महानगरका सबै सामुदायिक विद्यालयमा एक विद्यालय, एक स्मार्ट कक्षा कार्यक्रम लागू गरिने, आधारभूत तहका सबै सामुदायिक विद्यालयमा सूचना प्रविधिको पहुँच विस्तार गर्ने उद्देश्यका साथ ‘एक विद्यालय, एक ल्यापटप र एक प्रिन्टर कार्यक्रम लागु गरिने, वीरगन्ज–१० आदर्शनगरमा रहेको पुस्तकालयलाई आधुनिकीकरण गरिने,३२ वटै वडामा सामुदायिक पुस्तकालय स्थापना गरिने, कक्षा १० का विद्यार्थीलाई लक्षित गरी एसईई परीक्षाको तयारीका लागि निःशुल्क कोचिङ कक्षा सञ्चालन गरिने मेयर सिंहले बताए । स्थानीय भाषा भोजपुरी भाषा र संस्कृतिको संरक्षण, अभिवृद्धि र अन्तर्राष्ट्रिय प्रचार–प्रसार गर्ने उद्देश्यले वीरगन्जमा अन्तर्राष्ट्रिय भोजपुरी सम्मेलन आयोजना गरिने पनि उनले बताए ।

वीरगन्जलाई सुन्दर, समुन्नत, समृद्ध र वैभव वीरगन्जका रूपमा रूपान्तरण गर्ने आफ्नो संकल्प, वीरगन्जवासीको चाहना र आफूले चुनावमा गरेका प्रतिबद्धताहरुलाई मूर्तरूप दिनका लागि आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा आधुनिक र गुणस्तरीय पूर्वाधारको निर्माण, प्रभावकारी शिक्षा तथा स्वास्थ्य प्रणालीको प्रवर्द्धन, धार्मिक तथा पर्यटकीय गन्तव्यहरूको संरक्षण र प्रवर्द्धन सुशासनसहितको डिजिटल प्रशासन, योजनाबद्ध सहरी विस्तार र स्वच्छ, सफा तथा सुन्दर वीरगन्जको पहिचान निर्माणका योजना समावेश गरिएको मेयर सिंहले बताए ।

शंकर आचार्य आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully