घरेलु हिंसापीडित कञ्चन आफ्नै घरमा असुरक्षित

असार ९, २०८२

ओमप्रकाश ठाकुर

Kanchan, a victim of domestic violence, is not safe in her own home

सर्लाही — घरेलु हिंसापीडित सर्लाहीको हरिवन नगरपालिका–९ की कञ्चन रौनियार आफ्नै घरमा असुरक्षा महसुस गर्दै बसेकी छन्। पति मुन्ना भनिने रोहित गुप्ता फरार छन्। जिल्ला अदालत सर्लाहीको आदेश अनुसार केही दिनअघि प्रहरी र स्थानीयको सहयोगमा उनी घर पुगेपछि ससुरा सतेन्द्र गुप्ता तथा सासू घर छाडेर हिँडेका छन्।

घरमा एक्लै परेकी कञ्चनलाई साथ दिन माइतबाट बुवा हृदय राम र आमा सुनितादेवी छन्। तर पनि राति डराई–डराई त्रासमा बसिरहेकी छन् ।

दाइजोका कारण घरेलु हिंसामा परेकी कञ्चनलाई पति मुन्नाले सम्बन्ध विच्छेदको मुद्दा दिएपछि उनले घरेलु हिंसाको मुद्दा जिल्ला अदालत सर्लाहीमा दर्ता गराएकी थिइन् । जिल्ला अदालतले २०८० कात्तिक १४ गते घरमा बस्न, नकुट्न, खान लाउन दिन तथा औषधि उपचार गराउनेलगायतको आदेश दिएको थियो । तर अदालतको घरमा बसाउने भनेर लेखेको पत्र कञ्चनले ६ महिना वडा, पालिका तथा इलाका प्रहरी कार्यालय हरिवनमा धाउँदा पनि सबैले बेवास्ता मात्र गरेको सुनाइन्।

यसबीचमा उनले कति पटक आफैँ घर पस्न लागेको बेला श्रीमान्‌सहितकाले कुटपिट गरी घर बस्न नदिएको दुखेसो पोखिन् । बल्ल केही दिनअघि मात्र कञ्चन प्रहरी र स्थानीयको सहयोगमा घरमा प्रवेश गरेकी हुन् । तर उनी ढुक्कसँग घरमा बस्न सकिरहेकी छैनन् । राति कतैबाट आक्रमण भएर ज्यानै जाने हो कि भनेर त्रासमा बस्नु परिरहेको उनले गुनासो पोखिन् । ‘सबैको सहयोगमा आफ्नो घरमा प्रवेश त पाएकी छु, तर ससुराली पक्षको डर भने कायमै छ, त्रासमा रात बिताइरहेकी छु,’ उनले भनिन्, ‘आफ्नो घरमा बस्न पनि मैले लामो संघर्ष गर्नुपर्‍यो ।’

२०७९ असार १० गते मुन्नाको विवाह मोरङको सुन्दर हरैंचा नगरपालिका–१२ की कञ्चनसँग भएको थियो । सामाजिक सञ्जाल मार्फत मुन्नासित प्रेममा परेकी कञ्चनले दुवै पक्षको घरको सहमतिमा विवाह गरेकी थिइन् । विवाहपछि दुवै जनाको सपना विदेश जाने बनेको थियो । त्यही अनुसार उनीहरू दुवै जना काठमाडौँ पुगेर त्यसको तयारीमा जुटेका थिए ।

विभिन्न कारणले विदेश जाने सपना तुहिएपछि उनीहरूको प्रेम धेरै समय टिक्न सकेन । त्यसपछि उनीहरू बीचमा विवाद सुरु भएको थियो । दाइजो कम ल्याएको भन्दै आफूमाथि पटक–पटक यातना र कुटपिट हुन थालेको अदालतमा दिएको जाहेरीमा कञ्चनले उल्लेख गरेकी छन् ।

०७९ कात्तिकमा छठ पर्वपछि ५० लाख दाइजो नल्याएसम्म घरमा प्रवेश गर्न नदिने भन्दै कुटपिट गरी निकालिएपछि आफू माइतीको शरणमा पुगेको उनले बताइन् । त्यसको दुई महिना नबित्दै मुन्नाले कञ्चनलाई घरमा मिलेर बस्नुपर्छ भनी माइतबाट बोलाएर ल्याएका थिए ।

त्यस लगतै विदेश जाने भनेर ५० लाख माइतीबाट माग्न कञ्चनलाई भने तर कञ्चनले बुवाको हैसियत नभएको जिकिर गर्दै अडान लिएपछि विवाद पुनः सुरु भएको उनको भनाई छ । पछि १० लाख बैंकबाट तथा ६ लाख नगद तिरेपछि समस्या केही दिनका लागि समाधान भए पनि फेरि आफूमाथि कुटपिट तथा घरबाट निकालिएपछि ०८० असोज ४ गते न्यायिक समितिमा उजुरी गरेको उनले बताइन् । 

असोज ५ गतेको छलफलमा घरमा बस्न दिने, ६ गते विवाह दर्ता गराउने लगायतका सहमति भयो । त्यस लगतै मुन्नासहितका आफन्तले कञ्चनको चरित्रमाथि शंका गर्दै गर्भ जाँच गराउन जबरजस्ती अस्पतालमा लगेको सुनाइन् । ‘महिनावारी भएको छु भनेर रुँदा कराउँदा पनि कसैले सुनेन, पुरै कपडा खोलेर सेनिटरी प्याड समेत जाँच गरियो,’ उनले भनिन्, ‘अन्य व्यक्तिको सामुन्ने आफ्नो इच्छा विपरीत सार्वजनिक रूपमा आघात पुर्‍याइए पनि घरबार सप्रिन्छ भन्ने आसमा कुनै प्रतिवाद नगरी बसेँ।’ कुटपिटबाट घाइते भएको र घरबाट निकालिएपछि माइतको शरणमा पुगेकी उनले बताइन् ।

कञ्चनका पति मुन्ना ६ गते सम्पर्कमा नआएपछि न्यायिक समितिले गरेको निर्णय पनि कार्यान्वयन हुन सकेन । हरिवन नगरपालिकाकी उपप्रमुख हरिमाया घलानले न्यायिक समितिले निर्णय गरे पनि अर्को पक्ष दोस्रो दिन नआउँदा निर्णय कार्यान्वयन हुन नसकेको बताइन् । उनले आफूहरूले कञ्चनलाई न्यायिक लडाइ लड्न अघि बढ्न सुझाएको बताइन् । तर कञ्चनको यौनाङ्ग जाँच गरेको भन्ने कुरा पछि सुन्दा आफू पनि अचम्ममा परेको बताइन् । 

‘कञ्चनले निवेदन दिएपछि हामीले दुवै पक्षलाई राखेर सहमतिमा निर्णय गर्‍र्यौं, तर केटा पक्ष त्यो निर्णय कार्यान्वयन गरेनन्,’ न्यायिक समिति संयोजक समेत रहेकी उपप्रमुख घलानले भनिन्, ‘यौनाङ्ग चेक गरेको भनेर पछि थाहा पायौँ, यो सार्‍है गलत भएको रहेछ ।’ कञ्चनमाथिको हिंसा यतिमा मात्र सीमित भएन त्यस लगतै पति मुन्नाले जिल्ला अदालत सर्लाहीमा सम्बन्ध विच्छेदको मुद्दा दिएपछि कञ्चनले पनि घरेलु हिंसा, दाइजो, जालसाजीलगायतका मुद्दा दिएकी छन् । उनले सम्बन्ध विच्छेद्य मुद्दामा अंश, माना चामलको प्रतिउत्तर पनि लगाएकी छन् । घरेलु हिंसामा अदालतको आदेश आए पनि अन्य मुद्दा चलिनैरहेको छ ।

घरेलु हिंसामा अदालतले घर बस्न दिएको पत्र बोकेर कञ्चन ०८१ असार १९ गते घर प्रवेश गरेकी थिइन् । त्यस क्रममा पति मुन्नासहितकाले मरणासन्न हुनगरी कुटपिट गरेको भन्दै असार २० गते इलाका प्रहरी कार्यालयमा छलफल भएको थियो । ससुरा सतेन्द्रलाई प्रहरीले पक्राउ पनि गरेको थियो ।

त्यस क्रममा कञ्चनलाई घरको एक कोठामा बस्न दिने तथा कुटपिट नगर्ने सहमति भएको थियो । यो विषयलाई मिलाउनका लागि बरहथवाका स्थानीय अगुवालाई पनि राखेर छलफल भएको थियो । तर त्यहाँबाट पनि आफूले न्याय नपाएको कञ्चनले बताइन् । माइती नेपालमा पनि आफ्नो गुनासो राख्दा सुनुवाइ नभएको उनको गुनासो छ । कतैबाट न्याय नपाइरहेको बेला आफ्नै घरमा अपहेलित तथा हिंसाको सिकार भई बिरामी समेत भएको अवस्थामा उनी फेरि माइत गएर बसिन् ।

अन्य मुद्दा अदालतमा चलिरहेकै बेला मुन्नालेनै कञ्चनसँग परपुरुषको नक्कली विवाह दर्ता बनाएर सामाजिक सञ्जालमा राखेपछि उनले विद्युतीय कारोबार सम्बन्धी कसूरमा जिल्ला प्रहरी कार्यालय मोरङमा २०८१ कात्तिक ६ गते उजुरी दिएकी थिइन् । त्यसमा अदालतले मुन्ना र उनका दाजु सन्तोषविरुद्ध पक्राउ पुर्जी जारी जारी गरे पनि इलाका प्रहरी कार्यालय हरिवनले पक्राउ गर्न सकेको छैन । चरित्र हत्याको आरोपले कञ्चन थप प्रताडित बनेकी छन् ।

सामाजिक सञ्जालमा चरित्र हत्या गर्नेसम्मको काम हुँदा पनि प्रहरीले अभियुक्तलाई पक्राउ गर्न नसक्दा थप पीडामा परेको कञ्चनको गुनासो छ । ‘मेरो चरित्र हत्या गरेकोमा जिल्ला अदालत मोरङले पक्राउ पुर्जी जारी गरेको छ, तर इलाका प्रहरी कार्यालयले उनीहरूलाई पक्राउ गर्न सकेको छैन,’ कञ्चनले भनिन्, ‘मान्छे घरमा रहेको जानकारी दिंदापनि प्रहरी समयमा आउँदैन, प्रहरी आएको बेला उनीहरू भागिसक्छन्, स्थानीय भएका कारण यसमा प्रहरीले पनि उनीहरूकै साथ दिइरहेका छन् ।’

१५ लाख नगद, १८ लाखको गरगहनासहित फर्निचर, लत्ताकपडामा ७० लाख भन्दा बढी खर्च भए पनि दाइजोमा थप ५० लाखको माग भएपछि आफू घरेलु हिंसामा प्रताडित बनेको बताइन् । उनले मुन्नाबाहेक कोहीसँग आफ्नो कुनै सम्बन्धनै नरहेको ठोकुवा गर्दै चरित्र हत्या गर्न विभिन्न आरोपहरू लगाइरहेको जानकारी दिइन् ।

हरिवनका स्थानीय राजन केसीले पनि कञ्चन घरेलु हिंसामा परेको देखिरहेको जानकारी दिए । कञ्चनका ससुरा सतेन्द्रले कञ्चनको चालचलन ठीक नभएको पर पुरुषसँग घुमेको देखेपछि दुवै जनाको सम्बन्ध बिग्रेको बताए । उनका अनुसार कञ्चनलाई छोरी सम्झेर राखेकोमा अभद्र व्यवहारमा मुद्दा खेप्नु परेको गुनासो गरे । उनले कञ्चन आउने बित्तिकै भिडियो बनाउने सामाजिक सञ्जालमा राख्ने गरेका कारण आफूहरू घरबाट निक्लेको जानकारी दिए । उनले मिलापत्रका लागि ठुलो रकम माग भएकाले दिन नसक्ने बताउँदै अदालतकै फैसला कुर्नुबाहेक अन्य विकल्प नरहेको जानकारी दिए ।

यता इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक किशोर तामाङले जिल्ला अदालतबाट मुन्ना दाजुभाईविरुद्घ पक्राउ पुर्जी जारी भएपछि उनीहरू फरार रहेको जनाएको छ । ‘पहिलादेखि नै उनीहरू बीच पारिवारिक कलह छ, उनीहरू कानुनी बाटोमा पनि गएका छन्, तर पछिल्लो समय चरित्र हत्या भएको भन्दै जिल्ला अदालत मोरङले पक्राउ पुर्जी जारी गरेको छ,’ उनले भने, ‘प्रहरी उनीहरूको खोजी गरिरहेको छ, तर फेला पर्न सकेको छैन ।’

ओमप्रकाश

Link copied successfully