जो बर्सेनि ३ बिघा खेतमा २ बाली आलु रोपेर १० लाख कमाउँछन्

असार ८, २०८२

शंकर आचार्य

Who earns 1 million by planting 2 crops of potatoes in a 3 bigha field every year

पर्सा — ३ बिघा खेतमा वर्षमा २ बाली आलु लगाएर ९ देखि १० लाख रुपैयाँ कमाउन कत्तिको सम्भव छ ? यो प्रश्न गर्दा फेटा गाउँपालिका–१ त्रिवेणीका मिहिनेती किसान पारस ठाकुर तत्कालै जवाफ दिए - ‘सम्भव छ, म आफैंले ४ वर्षदेखि यसरी आलु खेती गरेर यत्तिकै कमाइरहेकै छु ।’

झट्ट सुन्दा पत्यार लाग्दैन । तर यो असम्भव कामलाई ६८ वर्षीय पारसले आफ्नै मिहिनेत र बुद्धिमत्ताले सम्भव बनाएका छन् । उनले बर्सेनि असोजदेखि चैत महिनासम्म २ बाली आलु भित्र्याउने गरेका छन् । खेतमा एक बाली धान पनि लगाउने गर्छन् । ‘बर्सेनि असोज मध्यमा पहिलो आलु बाली लगाएर ६० दिनमा त्यसलाई खनेर आलुको मूल्य चर्को भएको बेला बजारमा बिक्री गरिसक्छु,’ ठाकुरले बताए, ‘६० दिनमै आलुले पूर्ण आकार पाइसकेको हुँदैन, तर आकारमा केही सानो भए पनि यसले मूल्य भने नचिताएको दिन्छ ।’

यसो गर्नका लागि किसान मात्र नभई व्यापारीझैँ बुद्धि लगाएर आलुको बजार भाउ पनि दैनिकजसो बुझिराख्नुपर्ने उनले बताए । ‘यति बेला बर्सेनि आलुको मूल्य उच्च हुन्छ,’ उनले भने, ‘यही सही समय हो पहिलो आलु बाली भित्र्याउने ।’

पहिलो बाली भित्र्याएर बिक्री गरेलगत्तै खेतमा दोस्रो आलु बाली लगाउने गरेका छन् । यसो गर्दा मौसमले पनि साथ दिने भएकाले दोस्रो आलु बाली फागुन अन्त्य वा चैतको पहिलो सातातिर पूर्ण रूपमा तयार भइसक्ने भएको छ । सामान्यतया आलु बाली ८० दिनसम्म खेतमा राख्नुपर्ने हुन्छ । दोस्रो बालीले पहिलो बालीजस्तो राम्रो मूल्य तत्कालै नपाए पनि केही दिन भण्डारण गरेर बिक्री गर्दा राम्रै मूल्य पाइने ठाकुरले बताए । ‘यसरी एक वर्षमा २ आलु बालीबाट राम्रो कमाइ गर्न सकिन्छ,’ उनले भने ।

Who earns 1 million by planting 2 crops of potatoes in a 3 bigha field every yearउनी अरुण गोल्ड र केटु जातका आलु रोप्ने गर्छन् । प्रतिकठ्ठा १० क्विन्टलका दरले ६ सय क्विन्टल आलु उत्पादन गर्छन् । यसरी एक वर्षमा करिब १ हजार २ सय क्विन्टल आलु उत्पादन गर्ने गरेका छन् । उनले आलु रोप्ने पोट्याटो प्लान्टर मेसिन ४ लाख रुपैयाँमा खरिद गरेर त्यसैबाट रोप्ने काम गरिरहेका छन् । २ वर्षयता यही मेसिन भाडामा लगाएर २ लाख रुपैयाँ आम्दानी गरिसकेका छन् । आलु उखेल्ने पोट्याटो ड्रिगर मेसिन भने कृषि औजार अनुसन्धान केन्द्र रानीघाट, वीरगन्जले उपलब्ध गराइदिएको हो ।

कृषिमा यान्त्रिकीकरण अपरिहार्य रहेको बताउने ठाकुरले पहिलो कृषि उपकरणका रूपमा २०६९ सालमा ट्र्याक्टर किनेका थिए । कुनै पनि कृषि उपकरण चलाउन ट्र्याक्टर आवश्यक पर्ने भएकाले सबैभन्दा पहिले ट्र्याक्टर भित्र्याएका थिए । लगत्तै क्रमशः मकैको बोट काटेर माटोमा मिलाउने ह्यारो, माटो तान्ने कल्टिभेटर, माटो सम्याउने लेभलर, गहिरो जोत्ने ल्यान्ड लेभलर, माटो चिरफार गर्ने इन्टरकल्चर अपरेटर मेशिन, माटो भुवादार बनाउने रोटाभेटर र धान झार्ने थ्रेसर मेशिन पनि थपेका छन् ।

किसानको सफलतामा मिहिनेत मात्र होइन, आफूले उत्पादन गर्ने वस्तुलाई उचित समयमा बजारमा बिक्री गर्ने सुझबुझ पनि हुनुपर्ने उनको धारणा छ । ‘एउटा किसान सफल हुनमा उसको कडा मिहिनेत आवश्यक छ नै,’ उनले भने, ‘अनि कुन बालीबाट राम्रो कमाइ गर्न सकिन्छ र त्यसलाई कहिले बिक्री गर्ने भन्ने कुराको सामान्य बुझाइ भए सुनमा सुगन्ध थपिन्छ ।’

बर्सेनि कृषि मजदुरको अभाव हुँदै गइरहे पनि यान्त्रिकीकरणका कारण आफूलाई त्यसले असर नगरेको र खेतीको लागत पनि कम भएको ठाकुरको अनुभव छ । ‘एक त मजदुर पाइन छाडे, पाईहाले महँगा हुन्छन्,’ उनले भने, ‘कृषि यन्त्र भएपछि हामी परिवारकै सदस्यले सहजै खेतीपाती गर्न भ्याउँछौं ।’

एसएलसीसम्म पढेका यी अगुवा किसान इन्टरनेटबाट कृषि क्षेत्रमा भित्रिएका नयाँ प्रविधि, उन्नत जातका बिउ–बिजन, अर्गानिक बाली, घरेलु विधिबाट कीटनाशक बनाउने आदि कुराको जानकारी लिइरहने गर्छन् । गत वर्ष भारतको पञ्जाब राज्यको भ्रमण गरेर त्यहाँका किसानले गर्ने आलु खेतीको विधि र बिउबिजनबारे विस्तृत जानकारी लिएर फर्किएका छन् । त्यहाँका किसानले एलआर र ३७९७ जातका आलु बाली लगाएर नेपाली किसानभन्दा दोब्बर उत्पादन गरिरहेकाले नेपालमा पनि उन्नत जातका आलु बिउबिजन भित्र्याउन आवश्यक भइसकेको बताउँछन् ।

Who earns 1 million by planting 2 crops of potatoes in a 3 bigha field every yearकृषि औजार अनुसन्धान केन्द्र रानीघाट, वीरगन्जका प्रमुख इन्जिनियर सचिनकुमार मिश्राले पनि ठाकुरलाई उदाहरणीय किसानका रूपमा लिने गरेका छन् । ‘थोरै खेत भए पनि ठाकुरले आफ्नो मिहिनेत र कृषि कर्ममा यान्त्रिकीकरणको अत्यधिक उपयोग गरेर प्रशस्त लाभ उठाएका छन्,’ मिश्राले भने, ‘उनी अन्य किसानका लागि साँच्चिकै आदर्श पात्र हुन् ।’ कृषिसम्बन्धी कुनै पनि जिज्ञासा वा समस्या भए ठाकुर केन्द्रमा आएर आफूहरूसँग सल्लाह–सुझाव लिन लाज नमान्ने गरेको इन्जिनियर मिश्राले बताए ।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully