सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

असार ८, २०८२

विद्यानन्द राम

Two people died in a motorcycle accident in Saptari

राजविराज — सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ मा आइतबार दुइटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

बिहान भलुवा जाने बाँधको भित्रि सडकमा भलुवातर्फ गइरहेको को १० प ५६२ र विपरीत दिशाबाट आउँदै गरेको बा ५५ प ६६३९ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका दुवै मोटरसाइकल चालकको उपचारको क्रममा मृत्यु भएको एसपी ढकेन्द्र खतिवडाले जानकारी दिए । उनकाअनुसार ५६२ नम्बरको मोटरसाइकल चालक कञ्चनरुप नगरपालिका–१ बैरबाका ३४ वर्षीय ओमप्रकाश पञ्जियार र ६६३९ नम्बरको मोटरसाइकल चालक शम्भुनाथ नगरपालिका–११ राजपुरका १९ वर्षीय अविनाश मण्डलको मृत्यु भएको हो ।

घाइते भएपछि पञ्जियारलाई थप उपचारको लागि न्युरो अस्पताल विराटनगरमा पठाइएको थियो भने मण्डललाई गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याइएको थियो । दुर्घटनामा परेर घाइते भएका बैरबाकै ३० वर्षीय सुभाष महतोको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

विद्यानन्द विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully