खाँडो नदीमा भत्किएको तटबन्ध मर्मत थालियो

असार ८, २०८२

विद्यानन्द राम

Repair of the broken embankment on the Khando River has been started

राजविराज — सप्तरीको राजविराज नगरपालिका–१५ देउरी भरुवास्थित खाँडो नदीमा भत्किएको तटबन्ध मर्मत कार्य थालिएको छ । नदी व्यवस्थापनमा डेढ अर्बभन्दा बढी रुपैयाँ खर्चिएर पनि सो ठाउँमा करिब १० मिटर तटबन्ध निर्माण गरिएको थिएन

तटबन्ध नबनाउँदा देउरी भरुवाका डेढ सय घरपरिवारमा बाढीको त्रास देखिएको विषयमा ‘कान्तिपुर’ले समाचार सार्वजनिक गरेपछि तटबन्ध मर्मत कार्य थालिएको हो । ‘त्यो ठाउँमा तत्काललाई मर्मत कार्य सुरु गरिसकेका छौं’ खाँडो नदी व्यवस्थापन आयोजनाका सूचना अधिकारी ललितनारायण यादवले भने, ‘माटोले तटबन्ध पुनर्निर्माण गरी जियो ब्याग पनि हाल्छौं, इमर्जेन्सी कामका लागि हामीसँग बजेट नभए पनि विभागले बजेट पठाउने आश्वासन दिएको छ ।’

Repair of the broken embankment on the Khando River has been startedराजविराज नगरपालिका–१५ देउरी भरुवास्थित खाँडो नदीमा तटबन्ध मर्मत भइरहेको ठाउँदेखि करिब ५ सय मिटर दक्षिणतर्फको तटबन्ध । तस्बिरः विद्यानन्द राम/कान्तिपुर

सात वर्षको समय तोकेर २०७२/०७३ मा स्थापना गरिएको आयोजनाले अझैसम्म नदीको व्यवस्थापन कार्य प्रभावकारी गर्न सकेको छैन् । देउरी भरुवामा तटबन्ध मर्मत कार्य सुरु गरिएपनि त्यसको दक्षिणतर्फ पुलसम्ममा आधा दर्जन ठाउँमा लागेको ‘रेनकट’ले बाढीको जोखिम कायम नै रहेको स्थानीय ७० वर्षीय धनराज यादवले बताए । ‘तत्काललै गर्नुपर्ने तटबन्ध मर्मत कार्य त भइरहेको छ तर यसको ५ सय मिटर दक्षिणमा पनि तटबन्ध यही अवस्थामा छ’ उनले भने, ‘त्यहाँ पनि तत्कालै मर्मत गरिएन भने नदी पोखरी हुँदै बस्तीमा पस्ने सम्भावना उच्च छ ।’

तीन वर्षअघि नदीको दुवैतर्फ २५/२५ गरी कुल ५० किलोमिटरको तटबन्ध निर्माण कार्य सम्पन्न गर्नुपर्ने आयोजनाले अहिलेसम्म १ अर्ब ५६ करोड ७७ लाख ६० हजार रुपैयाँ खर्च गरेको छ । आयोजनाले ८० प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको दाबी गरिरहँदा पनि ठाउँ–ठाउँमा तटबन्ध भत्किएको अवस्था छ ।

विद्यानन्द राम विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully