लागूऔषध कारोबार मुद्दाका दोषीमाथि हातहतियार र ज्यान मार्ने उद्योगसम्मका आरोप

असार ७, २०८२

विद्यानन्द राम

Accusations of the accused in the drug-trafficking case range from weapons and killing industry

राजविराज — इलाका प्रहरी कार्यालय भारदहले सडकमा जाँच गरिरहँदा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ भारदहका ३५ वर्षीय जोगानन्द मण्डल पक्राउ परे । गत आइतबार पक्राउ परेका उनीमाथि आठ क्विन्टल १० किलो गाँजा तस्करी गर्न लागेको आरोप छ ।

कोशी नदीको बाटो हुँदै गाँजा तस्करी गर्न लागेको गोप्य सूचनाका आधारमा २०७९ पुस १४ मा खटिएको प्रहरीले ब्यारेजस्थित गोलदेखि ५ सय मिटर उत्तर–पूर्व कोशी भंगालको पूर्वी टापुबाट गाँजा बरामद गर्‍यो । टापुमा बालुवामुनि २७ वटा बोरामा गाँजा बरामद गरिए पनि तस्करी गर्न लागेका आरोपित मण्डल भने फरार भइसकेका थिए ।

खोजी भइरहँदा पक्राउ परेका मण्डल अन्य तीन वटा लागूऔषधकै मुद्दामा सप्तरी जिल्ला अदालतबाट दोषी ठहर भइसकेका छन् भने उनी हातहतियारदेखि ज्यान मार्ने उद्योगसम्मका आरोपित रहेको प्रहरीले जनाएको छ । शनिबार प्रहरीले जारी गरेको विज्ञप्तिअनुसार २०७१/०७२ मा सप्तरी जिल्ला अदालतले उनलाई लागूऔषध मुद्दामा दुई वर्ष कैद र १५ हजार जरिवाना सजाय तोकेको छ भने ०७७/०७८ मा पनि दुई वर्ष कैद तथा १५ हजार जरिवाना र ०८०/०८१ मा समेत लागूऔषध (ब्राउन सुगर) मुद्दामै १० हजार जरिवाना र ४ सय क्षतिपूर्ति सजाय पाएको डीएसपी जितेन्द्रकुमार बस्नेतले बताए ।

उनकाअनुसार तीमध्ये ०७७/०७८ मा दुई वर्ष कैद हुँदा मण्डलले दुई महिना २८ दिन थुनामा बसेकाले ती दिन कट्टा गरी एक वर्ष ९ महिना २ दिन कैद भोग्न र १५ हजार जरिवाना तिर्न बाँकी छ । उनी २०६५ सालयताका केही सार्वजनिक अपराध, ज्यान मार्ने उद्योग तथा हातहतियार खरखजाना मुद्दाका पनि फरार आरोपित हुन् । २०६५/०६६ मा सार्वजनिक अपराध, ०६८/०६९ का ज्यान मार्ने उद्योग र हातहतियार तथा औजार र ०७८/०७९ मा हातहतियार खरखजाना मुद्दा लाग्दा बुधन फरार रहेको डीएसपी बस्नेतले बताए ।

ती मुद्दामा पनि अनुसन्धान भइरहेको छ भने आठ क्विन्टल १० किलो गाँजा तस्करीका मुद्दामा म्याद थप लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

विद्यानन्द राम विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully