सर्लाहीमा बाटो बनाउने क्रममा झडप हुँदा ४ जना घाइते

असार ७, २०८२

ओमप्रकाश ठाकुर

4 people were injured in a clash during road construction in Sarlahi

सर्लाही — सर्लाहीको बरहथवामा शनिबार बिहान सडक विस्तारको क्रममा दुई पक्षबीच झडप हुँदा एक प्रहरी निरीक्षकसहित चार जना घाइते भएका छन् । प्रहरीले हवाई फायर गरी स्थिति नियन्त्रणमा लिएको छ ।

बरहथवा नगरपालिका–४, खैराटोलमा सडक ढलानको विषयमा दुई पक्षबीच विवाद हुँदा झडप भएको हो । एक पक्षले निजी जमिनमा सडक ढलान हुन लागेको भन्दै विरोध जनाएपछि विवाद सुरु भएको जिल्ला प्रहरी कार्यालय, सर्लाहीले जनाएको छ ।

विवाद झडपमा रूपान्तरण भएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन एक राउन्ड हवाई फायर गरेको जिल्ला प्रहरी प्रमुख एसपी योगेन्द्र कुमार खडकाले जानकारी दिए ।

झडपमा इलाका प्रहरी कार्यालय, बरहथवामा कार्यरत प्रहरी निरीक्षक दिवाकर गणेशसहित चार जना घाइते भएका छन् । प्रहरी निरीक्षक गणेश झडप नियन्त्रणको प्रयासमा घाइते भएका हुन् भने अन्य तीन जना स्थानीयवासी झडपमा परेर घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरूलाई उपचारका लागि अस्पताल लगिएको छ ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय, बरहथवा र जिल्ला प्रहरी कार्यालय, मलंगवाबाट थप सहयोगी प्रहरी टोली खटाइएको छ । झडप नियन्त्रणमा आइसकेको र अवस्था सामान्य बन्दै गएको जिल्ला प्रहरी कार्यालय, सर्लाहीले जनाएको छ ।

यसअघि खैराटोलमा सडक विस्तार र ढलान गर्ने क्रममा केही महिला तथा पुरुषले एक महिलालाई लछारपछार पारेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो ।

ओमप्रकाश

Link copied successfully