बिलभन्दा बढी सामान ल्याएको भन्दै प्रहरीले ट्रक नियन्त्रणमा लियो

असार ६, २०८२

शिव पुरी

The police seized the truck for bringing more goods than the bill

रौतहट — रौतहटको चन्द्रपुर–४ स्थित पूर्व–पश्चिम राजमार्गमा बिलबिजकभन्दा बढी सामान ल्याएको भन्दै प्रहरीले शुक्रबार एक ट्रक नियन्त्रणमा लिएको छ। उक्त सामानको मूल्य झण्डै ४६ लाख रुपैयाँ बराबर रहेको बताइएको छ।

चन्द्रपुरस्थित ट्राफिक कार्यालयअगाडि जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको प्रहरी गस्ती टोलीले वीरगञ्जबाट सर्लाहीतर्फ जाँदै गरेको ना ७ ख ७६७६ नम्बरको मिनी ट्रक रोकी जाँच गर्दा बिलबुझाइभन्दा बढीका विभिन्न किसिमका किराना तथा कपडाहरू लोड गरिएको पाइएकोले ट्रक र चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रमुख एसपी नेत्रमणि गिरिले जानकारी दिए।

'ट्रकमा के–कति सामान थिए भन्ने अनुसन्धान हुँदैछ,' उनले भने, 'नियन्त्रणमा लिएको ट्रक र सामानबारे राजस्व अनुसन्धान कार्यालयमा पठाउँछौँ।'

प्रहरीले ट्रक चालक सर्लाही हरिवन नगरपालिका–९ का ३० वर्षीय जय दासलाई नियन्त्रणमा लिएको छ। उक्त सामानको मूल्य अन्दाजी ४५ लाख ५६ हजार रुपैयाँ बराबर रहेको प्रहरीको भनाइ छ। ट्रकमा लोड गरिएको किराना सरसामान र कपडाहरू आवश्यक कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय पथलैया, बारामा बुझाइएको एसपी गिरीले बताएका छन्।

शिव पुरी उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully