बहुदरमाईका कार्यकारी अधिकृत श्रीवास्तव र पोखरियाका नासु साह अख्तियारको नियन्त्रणमा 

असार ६, २०८२

शंकर आचार्य

Executive Officer Srivastava of Bahudarmai and Nasu Sah of Pokhria under the control of the authority

पर्सा — अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालय टंगालको टोलीले शुक्रबार पर्साको बहुदरमाई नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेश श्रीवास्तवलाई पक्राउ गरेको छ ।

केन्द्रीय कार्यालयबाट आएको अख्तियारका २ जनाको टोलीले नगरपालिकाको कार्यालयमा छापा मारी श्रीवास्तवलाई नियन्त्रणमा गरी आवश्यक अनुसन्धानका लागि काठमाडौं लगेको पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिएका छन् । 

त्यसैगरी, पोखरिया नगरपालिकाका जिन्सी सहायक नायब सुब्बा सन्दीप साहलाई पनि सोही टोलीले नियन्त्रणमा लिई लगेको एसपी मिश्रले बताए । ‘अख्तियारको टोलीले आफूहरूले यी दुई जनालाई नियन्त्रणमा लिएर लगेको जानकारी मात्र दिएको छ,’ उनले भने, ‘किन र के अभियोगमा उनीहरूलाई लगेको हो भनी जानकारी दिएका छैन ।’ 

दुवैलाई पदको दुरुपयोग गरी आर्थिक लाभ लिएको आरोपमा अनुसन्धानका लागि पक्राउ गरी लगेको अख्तियार स्रोतले बताएको छ । श्रीवास्तव यसअघि पोखरिया नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत रहेका थिए । 

शंकर आचार्य आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully