अन्नभण्डारमा थालिएकै छैन रोपाइँ

असार ५, २०८२

अजित तिवारी

Planting has not started in the granary

जनकपुर — अन्नभण्डार मधेश प्रदेशमा धान रोपाइँ अझै थालिएको छैन । मनसुन बल्ल सक्रिय भएकाले धान रोपाइँका लागि खेत तयार पारिँदै छ ।

तराई–मधेशमा एकलट ठूलै पानी परेपछि मात्र धान रोपाइँको सुरसार गरिन्छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका कृषि प्रसार अघिकृत अमरचन्द्र मण्डलका अनुसार बेर्नासमेत तयार नभएकाले अब अर्को सातादेखि मधेशमा धान रोपाइँ सुरु हुनेछ ।

‘मधेश प्रदेशमा धान रोपाइँ थालिएकै छैन,’ कृषि प्रसार अधिकृत मण्डलले भने, ‘अफ ल्यान्ड एरियामा छिट्टै धान रोपाइँ हुन्छ । मधेशमा त धान रोपाइँ गर्ने बेला बल्ल हुँदैछ ।’ उनले तराई–मधेशमा २५ दिनसम्म हुर्केको बेर्ना रोप्न लायक हुने गरेको बताए । 

‘खेतमा एक फिटसम्म पानी जमेपछि मधेशमा धान रोप्ने चलन छ,’ उनले भने,‘त्यति धेरै पानीमा त २५ दिनको बेर्ना पनि डुब्छ । त्यसैले महिना दिनसम्म बेर्ना उमारेपछि रोप्ने गरिन्छ ।’ उनले जेठको ५ गतेदेखि छरिएको बेर्ना बल्ल तयार भएको र मनसुन पनि यही समयमा सक्रिय भएकाले मधेशमा धान रोपाइँ धमाधम हुने बताए ।

मधेश प्रदेशका लगभग २ लाख ७० हजार हेक्टरमा धान रोपाइँ हुन्छ । मधेश प्रदेश सरकारले फिड द नेशन(देशलाई नै खाना खुवाउने) नीति ल्याउँदै यसवर्षदेखि धानको दुई बाली प्रवर्द्धन गर्ने योजनासमेत ल्याएको छ ।

अजित पत्रकार तिवारी कान्तिपुरका जनकपुर संवाददाता हुन् ।

Link copied successfully