पर्सा — कृषि प्रधान देशमा कृषिसम्बन्धी अनुसन्धान गर्ने जिम्मेवारी बोकेको कृषि अनुसन्धान निर्देशनालय मधेश प्रादेशिक कार्यालय परवानीपुर कर्मचारीको चरम अभाव झेल्दै छ । अन्नको भण्डार तराई मधेशमा कृषिसम्बन्धी नयाँ-नयाँ खोज अनुसन्धान गरी किसानलाई हौस्याउने काम गर्नु पर्ने कार्यालय कर्मचारी अभावले आफैं समस्यामा छ ।
कार्यालयमा कूल ७८ कर्मचारीको दरबन्दी रहेकोमा हाल डेढ दर्जन जनशक्ति मात्र कार्यरत छन् । तीमध्ये पनि १ दर्जन स्तरविहीन कर्मचारी हुन् । अनुसन्धान, बीजवृद्धि,बाह्य अनुसन्धान, स्थलगत काम आदि कर्मचारी अभावले प्रभावित भएको छ ।
केन्द्रका निर्देशक डा. विशेश्वर यादव ठूलो जिम्मेवारी वहन गरेको यो कार्यालय जनशक्ति अभावले समस्याग्रस्त भएको बताउँछन् । २००४ सालमा स्थापना भएको नेपालकै सबैभन्दा जेठो कृषि अनुसन्धान कार्यालयका रूपमा चिनिने यो केन्द्रमा बर्सेनि कर्मचारी अभाव बढ्दो क्रममा रहेको उनले बताए । ‘यो समस्याबारे नेपाल कृषि अनुसन्धान परिषद्लाई पनि औपचारिक रूपमा जानकारी गराई सकेका छौं,’ उनले भने, ‘सीमित जनशक्तिको भरमा हामीले केन्द्रको सबै काम भ्याउने सक्दो प्रयास गरेका छौँ ।’
यसरी सीमित जनशक्तिले काम गर्दा आफूहरूलाई आवश्यक जनशक्ति दिएर प्रोत्साहित गरिनु पर्नेमा त्यसो नगरिएको यादव गुनासो गर्छन् । जनशक्ति अभावकै बीच पनि केन्द्रले यस वर्ष बीजवृद्धि र राजश्व वृद्धिमा सक्रियताका साथ काम गरेको यादव दाबी गर्छन् । यसै वर्ष केन्द्रले सप्तरीमा आफ्नै प्रयासमा नार्क प्रविधि गाउँ स्थापना गरेर अनुसन्धानमा प्रविधिको प्रयोगलाई बढावा दिइरहेको उनले बताए ।
नेपाल कृषि अनुसन्धान परिषद्मै हाल कर्मचारीको चरम अभाव रहेको उनले बताए । ‘परिषद्मा हाल १ हजार ८ सय २३ कर्मचारीको दरबन्दी रहेकोमा त्यसको आधा अर्थात ९ सय भन्दा पनि कम जनशक्ति रहेको छ,’ उनले भने, ‘ती मध्ये ५० जनशक्ति यसै वर्ष अवकाशमा जान तयारी अवस्थामा छन्, त्यसपछि कर्मचारीको झनै अभाव हुने निश्चित छ ।’
