बुहारीको गर्भ तुहाएको आरोपमा सासू–ससुरामाथि गर्भपतन मुद्दा

असार ५, २०८२

विद्यानन्द राम

Abortion case against mother-in-law for allegedly aborting her daughter-in-law

राजविराज — प्रेम विवाह गरेकी सप्तरीको हनुमानननगर कंकालिनी नगरपालिका–२ सकरदहीकी २० वर्षीया सनिसा खंगको गर्भ तुहाएको आरोपमा सासू–ससुरामाथि गर्भपतन मुद्दा चलाइएको छ । मंगलबार राति सासू झुलफूलदेवी खंग लगायत सनिसालाई जबरजस्ती गर्भपतनको औषधि खुवाएका थिए ।

बुधबार बिहानसम्म अचेत भएकी उनलाई प्रहरीको सहयोगमा गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याइएको थियो । अस्पताल आउँदासम्म ढिलो भइसकेका कारण चिकित्सकले उनको गर्भ जोगाउन सकेनन् । घटनापछि उनकी सासू झुलफूलदेवी र ससुरा परमेश्वर खंगलाई नियन्त्रणमा लिइएको थियो ।

दुवै जनामाथि गर्भपतनको मुद्दामा दुईपटक गरी १० दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको एसपी ढकेन्द्र खतिवडाले बताए ।

तीन वर्षको प्रेम सम्बन्धपछि एक वर्षअघि सोही ठाउँका २२ वर्षीय शिवजीसँग सनिसाले विवाह गरेकी थिइन् । शिवजीकै जोडबलका कारण दुवै जनाले कंकालिनी भगवती मन्दिरमा विवाह गरे पनि तत्काल अलगै बसेर पढाई पूरा भएपछि मात्रै सँगै बस्ने सहमति थियो । तर, गत चैतको पहिलो साता शिवजीले सनिसालाई आफ्नै घरमा राख्ने भन्दै लगे पनि परमेश्वर र झुलफूलदेवीले उनलाई बुहारी स्वीकार्य गर्न तयार भएनन् ।

सनिसा गर्भवती रहेको थाहा पाएपछि आक्रोशित बनेका सासू–ससुराले दिल्ली पुर्‍याएर गर्भपतन गराइदिने योजना बनाए । सोहीअनुसार सनिसालाई १२ दिन विहारको दौलतपुरमा लगेर राखे । तर, सो योजनाबारे सनिसाले थाहा पाएपछि भागेर फर्किएपनि घरमा बस्न दिएनन् । पति शिवजीले पनि साथ नदिएपछि सनिता प्रहरीमा पुगेकी थिइन् ।

प्रहरीले दुवै पक्षलाई राखेर छलफल गराएपछि कागज गराएर उनलाई घरमा बसाएको थियो । सोही क्रममा उनकी सासू लगायतकाले जबरजस्ती गर्भपतनको औषधि खुवाएको सनिसाको भनाइ छ ।

विद्यानन्द विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully