रौतहट — सम्झौताअनुसार काम नगरी अलपत्र छाडेका निर्माणाधीन पुलको ठेक्का तोड्ने वा ठेकेदारलाई फकाएर काममा जोड्ने भन्नेमा सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुर दुविधामा परेको छ । दर्जनौँ पुलको ठेक्का लागेर सम्झौताअनुसार काम नभई पटक–पटक म्याद थपेर थाकेको सडक डिभजन बरु ठेकेदारलाई फकाएर ढिलै भए पनि निर्माण सम्पन्न गराउने रणनीतिमा लागेको छ ।
चन्द्रपुर नगरपालिका–३ गैंडाटार–चन्द्रनिगाहपुर जोड्ने चाँदी नदी पुल निर्माणको काम छाडेर ठेकेदार बसेपछि सडक डिभिजन प्रमुख अरुणकुमार लालकर्णले ठेक्का तोड्नेभन्दा पनि फकाएर काममा जोड्ने तयारीमा लागेको बताए । समयमा पुल बनाउन नसकेको भनेर स्थानीयले निर्माणाधीन पुलमुनि त्रिपाल राखेर आमरण अनशन बसेका थिए । ठेकेदारले ‘हुन्छ, काम गर्छु’ मात्र भनेर पन्छिन थालेपछि सडक डिभिजन ठेकेदार फकाउन लागेको हो । ठेकेदारले काम गर्न नसक्ने भनेर हात उठाइसकेको अवस्था छ । उसलाई फकाएर काम सक्न डिभिजन कार्यालय अनेक प्रयासमा लागेको पाइन्छ ।
गैंडाटार जाने बाटोको पुल लामो समयदेखि अलपत्र परेपछि स्थानीयले आमरण अनशन, कार्यालय घेराउ र ज्ञापनपत्र बुझाउँदै आएका छन् । बर्खाका बेला स्थानीयलाई आवतजावतमा समस्या हुन थालेपछि निर्माण सक्न सडक कार्यालयलाई दबाब पर्ने गरेको हो । रौतहटका विभिन्न नदीहरूमा निर्माणको क्रममा रहेका पुल लामो समयसम्म सम्पन्न हुन नसकेपछि अहिले सडक कार्यालयलाई झन्झट भएको छ । स्थानीयको दबाब र ठेकेदारले काममा बेवास्ता गरेपछि पछिल्लो समय सडक डिभिजन कार्यालय तनावमा परेको हो । डिभिजन प्रमुख कर्ण निर्माणको काम छाडेर चुप बसेका ठेकेदारलाई फकाउँदै हैरान भएको सुनाउँछन् । ‘ठेक्का तोडौँ, प्रक्रिया झन् लामो हुन्छ । यतिकै बसौँ, ठेकेदारले कामै गर्दैनन्,’ उनले भने, ‘अब फकाई–फकाई काम गराउनु पर्छ । अरू उपाय छैन ।’
निर्माणसम्बन्धी धेरै ठेक्का पाएको वीरगन्जको पप्पु कन्स्ट्रक्सन र रौतहटको शिवशंकर जेभीले रौतहटमा ५ वटा पुलको ठेक्का लिएको छ । ती सबैको काम अलपत्र छ । चन्द्रपुर–३ स्थित चाँदी नदी पुलको पप्पु/शिवशंकर जेभीले ठेक्का नम्बर ५३ को २५ करोड ३६ लाख २४ हजारमा सकारेको हो । उसले २०७४ असार ३१ गते लिखित सम्झौता गरी २०७६ असार ३१ गते पुल निर्माणको काम सक्नुपर्ने थियो । ८ वर्ष बितिसक्दा पनि पुल बनेको छैन । यो अवधिमा उसले ७५ प्रतिशत मात्र काम गरेको सडक डिभिजनले जनाएको छ ।
त्यस्तै २०७३ जेठ २६ गते सम्झौता गरेको गुजराखोला, ब्रह्मटोल, कोटिहार पुल निर्माणको ठेक्का पनि पप्पु/शिवशंकरले नै पाएको छ । ९ वर्षको अवधिमा यो पुलको काम ६० प्रतिशत मात्र गरेको सडक डिभिजनले जनाएको छ । २०७५ असोज १५ गते निर्माणको काम सक्नुपर्ने थियो । तरहरी खाला पुल पिपरिया दोस्तियाको २०७३ असोज ६ गते सम्झौता गरेर अहिलेसम्म ४५ प्रतिशत मात्र काम गरेको छ ।
२०७५ वैशाख २७ गते सक्नुपर्ने सम्झौतामा उल्लेख छ । लौकाहा खोला पुल मल्टिपल पुल पनि २०७३ मै सम्झौता भएको हो । यसको भौतिक प्रगति ५५ प्रतिशत छ । सबै पुल पटक–पटक म्याद थपेर पनि ठेकेदारले सम्पन्न गर्न नसकेर कार्यालयलाई समस्या बनेको डिभिजन प्रमुख कर्णले गुनासो पोखे । ठेकेदारको लापर्बाहीका साथै सरकारले निर्माणमा लाग्नेजति बजेट विनियोजन गर्न नसकेपछि काम प्रभावित भएको प्रमुख कर्णको भनाइ छ । चाँदी पुलको निर्माणकर्ता दयाराम साहले आर्थिक संकटकै कारण आफूले निर्माणको काम गर्न नसकेको बताए ।
पप्पुसितको जेभीमा पुलको ठेक्का लिएका साह अहिले काम अलपत्र छाड्नेमा चर्चामा छन् । निर्माणको काममा ढिलासुस्ती भएको भन्दै एक वर्षअघि जनप्रतिनिधिसहित स्थानीयले ठेकेदार साहलाई जहाँ भेट्यो, त्यहीँ र्याखर्याख्ती पार्थे । ठेकेदारले केही समय काम सुरु गरेर अहिले छाडेर चुप बसेको छ ।
रौतहटमा पुलको ठेक्का लिएर काम नगरेको भन्दै स्थानीयले अनशन, चक्काजाम, कार्यालय घेराउसम्मको कार्यक्रम गर्दै आएका छन् । चाँदी पुल र गौर नगरपालिका–४ टिकुलियाको पुल समयमा नबनेकै भन्दै स्थानीय अनशन बस्न बाध्य भए । २०७१ असार २९ मा टिकुलियास्थित लालबकैया पुलको १४ करोड ९३ लाख २७ हजार रुपैयाँमा ठेक्का सकार गरेको पप्पु कन्स्ट्रक्सनले २०७५ असार २५ मा निर्माण सकिसक्नुपर्ने थियो । पप्पुले पुल अलपत्र छाडेपछि विभागले २०८० असोज ९ गते पुल निर्माणको बाँकी काम सक्नेगरी आजाद दिपु जेभीसँग २७ करोड ६६ लाखमा ठेक्का सम्झौता गर्यो । तर २०८१ चैत १ मा निर्माण सक्नुपर्ने भए पनि आजाद दिपु जेभीले सरकारले बजेट विनियोजन नगरेको भन्दै खासै काम अघि बढाएको छैन ।
रौतहटकै दुर्गा भगवती गाउँपालिका–५ स्थित सर्लाही जोड्ने वाग्मती बडहर्वा पुलको शिलान्यास भएको १४ वर्ष पुगिसक्यो । लुम्बिनी बिल्डर्स र पप्पु कन्स्ट्रक्सनले २०६७ जेठ ३१ गते तीन वर्षभित्रै अर्थात् २०७० जेठ ३० भित्र निर्माण सम्पन्न गर्नेगरी ३५ करोड ८९ लाख ९ हजार ४३३ रुपैयाँमा यो पुल निर्माणको संयुक्त ठेक्का सकार गरेका थिए । यो पुलको काम गर्ने अवस्था नरहेको भन्दै लुम्बिनी बिल्डर्सले एकतर्फी रूपमा २०७१ फागुन ९ गते ठेक्का तोड्यो । त्यसपछि हुलाकी राजमार्ग निर्देशनालय काठमाडौंले लुम्बिनी बिल्डर्सको ठेक्का रद्द गरी दोस्रो पटक ठेक्का आह्वान गर्यो । २ हजार २४१ मिटर लम्बाइमा नदी नियन्त्रणको कामसहित महालक्ष्मी, विकास, वाईपी जेभीले ५७ करोड ४० लाख ७७ हजार रुपैयाँमा ठेक्का सकार गरेको थियो । ठेकेदारले २०८१ कात्तिक १० गते काम सम्पन्न गर्ने गरी २०७९ वैशाख ११ मा सम्झौता गरे पनि अहिले पुल निर्माणको काममा २० प्रतिशत मात्रै प्रगति भएको छ ।
कटहरिया जोड्ने झाझ नदीको पुल २०७५ असार १९ गते एपेक्स रबि जेभीले ठेक्का सम्झौता गरे पनि ७ वर्षको अवधिमा अहिले सम्म ५५ प्रतिशत मात्र भौतिक प्रगति गरेको सडक डिभिजनले जनाएको छ । पछिल्लो पटक म्याद थपेर असार मसान्तसम्म सक्नुपर्ने सडकले जनाएको छ । झाझ नदी मिठुअवा पुलको ठेक्का पाएको दिवा/नियाग्रा/लक्ष्मणरेखा जेभीले २०७८ पुस १२ गते सम्झौता गरे पनि ४ वर्षको अवधिमा ५१ प्रतिशत मात्र काम गरेको छ । २०८० पुस १२ गते सक्नुपर्ने पुल अहिलेसम्म अलपत्र छ ।
