रोपाइँ अघि साल्ट ट्रेडिङ र कृषि सामग्रीको युरिया भित्रिन थाल्यो

असार ४, २०८२

शंकर आचार्य

Salt trading and urea of ​​agricultural inputs started before planting

पर्सा — रोपाइँ नजिकिँदै गरेका बेला साल्ट ट्रेडिङ कर्पोरेसन र कृषि सामग्री कम्पनीको युरिया मल वीरगन्ज नाका हुँदै भित्रिन थालेको छ ।

मल आपूर्तिको जिम्मेवारी पाएका देशका यी दुई संस्थानले ग्लोबल टेन्डरमार्फत आयात गरेको युरिया क्रमशः भित्रिन थालेको हो ।

दुवै संस्थानको हाल युरिया आपूर्ति गर्ने आपूर्तिकर्ता कम्पनी सन इन्टरनेसनल हो । सनले ल्याएको साल्टको एक र्‍याक युरिया मल मंगलबार वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाहमा आइपुगेको छ । साल्ट ट्रेडिङको मधेश प्रादेशिक कार्यालय वीरगन्जका प्रमुख अमोज लामिछानेका अनुसार, १८ हजार टनको यो कन्साइन्मेन्ट अन्तर्गत वीरगन्ज प्रादेशिक कार्यालयले ७ हजार ६ सय ५० टन मल पाउने छ । भैरहवा प्रादेशिक कार्यालयले ५ हजार १ सय र विराटनगर कार्यालयले ५ हजार २ सय ५० टन मल पाउने छ । वीरगन्ज र भैरहवाको मल वीरगन्ज नाका हुँदै भित्रिँदैछ ।

रोपाइँ नजिक भित्रिन थालेकाले मलले स्वदेशी किसानको मलको माग धेरै हदसम्म भरथेग गर्ने लामिछानेले बताए । ‘भर्खरै यसअघिको कन्साइन्मेन्टको युरिया मल हामीले परिचालन गरेका छौं,’ उनले भने, ‘अब यो कन्साइन्मेन्टको मलले धेरै हदसम्म मलको माग धान्ने छ ।’

यता कृषि सामग्री कम्पनीको युरिया मल पनि बिहीबारदेखि भित्रिन थाल्ने कम्पनी मधेश प्रादेशिक कार्यालय वीरगन्जका सूचना अधिकारी तथा सहायक प्रमुख पुरुषोत्तम सिंहले जानकारी दिए । कोलकाता बन्दरगाहबाट युरिया मल बोकेको एक रेल्वे र्‍याक वीरगन्जका लागि सोमबार नै हिँडिसकेको उनले बताए ।

बिहीबारसम्म यो रेल्वे र्‍याक सीमावर्ती भारतीय सहर रक्सौल रेल्वे स्टेसन आइपुग्ने सिंहले बताए । यो कन्साइन्मेन्टबाट २१ हजार ५ सय टन युरिया मल भित्रिने सिंहले बताए । वीरगन्ज, भैरहवा र विराटनगर प्रादेशिक कार्यालयले यो मलबाट भागबण्डा पाउनेछन् ।

यस अघिकै ३० हजार टनको अर्को कन्साइन्मेन्टबाट कम्पनीले ३० हजार टन युरिया भित्र्याइरहेको छ । त्यसमध्ये ६ रेल्वे र्‍याकमा १५ हजार टन युरिया वीरगन्ज नाका हुँदै भित्री सकेको र बाँकी भित्रिने क्रममा रहेको सिंहले बताए । विराटनगरबाट पनि यो कन्साइन्मेन्टको मल भित्री रहेको छ ।

पुरानो र नयाँ भित्रिन लागेको मलले कार्यालयको कार्यक्षेत्रका मधेश, बागमती र गण्डकी प्रदेशका डेढ दर्जन जिल्लामा युरिया मलको सहज उपलब्धता हुने सिंहले बताए । ‘रोपाइँ अघि यसरी नै युरिया मल भित्रिएपछि हामीलाई किसानलाई मल आपूर्ति गर्न सहज हुन्छ,’ उनले भने, ‘हाल भित्रिन थालेको मलको आपूर्तिमा कुनै बाधा अवरोध नभए रोपाइँ सुरु हुनु अघि नै सबै मल भित्रिसक्छ ।’

शंकर आचार्य आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully