सप्तरीमा ट्याक्टरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

असार ४, २०८२

विद्यानन्द राम

A motorcyclist died after being hit by a tractor in Saptari

राजविराज — सप्तरीको शम्भुनाथ नगरपालिका–१ गोविन्द चोकमा ट्याक्टरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत मंगलबार बेलुका दुर्घटना भएको हो ।

शम्भुनाथतर्फ गइरहेको स १ त ४९७२ नम्बरको ट्याक्टरले विपरीत दिशाबाट आउँदै गरेको प्र.२–०१–००१ प ३१३५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा परेर गम्भीर घाइते भएका मोटरसाइकल चालक रुपनी गाउँपालिका–१ का २५ वर्षीय मो.आजाद मियाँलाई उपचारको लागि गजेन्द्रनारायण सिंह अस्पताल ल्याइएको थियो ।

उपचारकै क्रममा उनको मृत्यु भएको एसपी ढकेन्द्र खतिवडाले जानकारी दिए । दुर्घटना मोटरसाइकलमा पछाडी सवार रहेका सोही ठाउँका १८ वर्षीय समिर मियाँको पनि हात, खुट्टा र टाउकोमा गम्भीर चोट लागेको छ ।

उनलाई युनिक अस्पतालमा उपचारपछि थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । ट्याक्टर चालक शम्भुनाथ नगरपालिका–१ का कैलाशकुमार यादवलाई नियन्त्रणमा लिइएको छ भने दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

विद्यानन्द विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully