वन कर्मचारीकै मिलोमतोमा काठ तस्करी

असार ३, २०८२

विनय आजाद

Timber smuggling with the connivance of forest staff

सिरहा — मिर्चैया नगरपालिका-७, फूलबरियास्थित राजमार्ग छेउमै रहेको प्रहरी बिट छल्दै सोमबार राति करिब १० बजे दुई वटा पिकप भ्यान अगाडि बढे । प्रहरीलाई शंका लाग्यो । ड्युटीमै रहेका प्रहरीले पछ्याउँदै गाडी रोकाए ।

दुवै भ्यानमाथि लगाइएको त्रिपाल खोलेर हेर्दा भेटियो- काठ । प्रहरीले कागजात माग्यो । तर, उनीहरूले तत्कालै कागजात दिन सकेनन् । त्यसपछि प्रहरीले प्रदेश ३–००१ च ७१४४ र प्रदेश १–००१ च ८५९५ नम्बरका दुवै भ्यान नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय, मिर्चैयामा लगियो ।

प्रहरीले तत्कालै सब डिभिजन वन कार्यालय, मिर्चैया र डिभिजन वन कार्यालय, लहानलाई खबर गर्‍यो । तर, प्रहरीद्वारा नियन्त्रणमा लिइएका ती काठ, गाडी र त्यसका चालक बुझ्न मंगलबार दिनभर आनाकानी गरेको वनले आलोचना बढेपछि साँझ करिब १९ घन्टापछि मात्रै बुझेको छ ।

अब यस विषयमा आवश्यक अनुसन्धान तथा कारबाही वनले नै गर्ने सिरहाका प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानले बताए । 'यो वनसँग सम्बन्धित विषय हो, वनले ढिलो भएपनि काठ, चालक र गाडी बुझेको छ,' उनले कान्तिपुरसित भने, 'अब यस विषयमा उतैबाट कानुनी प्रक्रिया अगाडि बढ्छ ।'

तर, डिभिजन वन कार्यालय, लहानका प्रमुख शैलेन्द्र मिश्रले भने यस विषयमा अनुसन्धानपछि मात्रै केही बोल्ने प्रतिक्रिया दिए । 'हामी अहिले केही बोल्दैनौं, अनुसन्धान हुन्छ,' उनले भने, 'अहिले नै काठ अवैध हो वैध भन्न मिल्दैन ।'

प्रहरीका अनुसार, गाडीबाट ३ सय ३५ थान साल जातको चिरान बरामद भएका छन् । एक जिल्लाबाट अर्को जिल्लामा काठ लैजान वन डिभिजन कार्यालय वा सम्बन्धित वन कार्यालयको ढुवानी पास चाहिन्छ । तर, गाडीका चालकसँग १ सय २२ क्युफिट काठको बिल बिजक मात्रै रहेको पाइएको छ ।

जबकि, उक्त काठ करिब ३ सय क्युफिट हुने वनकै एक कर्मचारी बताउँछन् । सिन्धुली जिल्लाको कमलामाई नगरपालिका-६ बाट कटारी हुँदै आएका ती काठ गोलबजारका काठ कारोबारी तथा गौरव काष्ठ मिलका सञ्चालक श्याम साहको रहेको वन स्रोतले बताएको छ । 

साहले भने आफू सिन्धुली जिल्लाका एक व्यक्तिसँग काठ किनेको बताए पनि कति काठ किनेको र उक्त काठ आफ्नै भएको भन्ने विषयमा स्पष्ट जवाफ दिएनन् । 'मैले सिन्धुली जिल्लाका एक जनासँग काठ किन्न त किनेको हुँ,' उनले भने, 'तर, परिणाम अहिले थाहा भएन, तपाईंसँग पछि कुरा गर्छु ।' 

साह यसअघि २०८० कात्तिक १८ मा पनि प्रतिबन्धित करम जातको २ सय ५० क्युफिट काठसहित पक्राउ परेका थिए । उनले सिन्धुली, उदयपुर र सिरहाका वनहरूबाट वनकै मिलेमतोमा अवैध रूपमा रुख कटान तथा फडानी गरी सिरहा जिल्लाका विभिन्न मिलहरूमा पुर्‍याउने गरेको वनकै एक कर्मचारीले बताए ।

'उनी ठूला काठ तस्कर हुन्, उनी र उनीजस्ता अन्य काठ तस्करहरूको माथिसम्मै मिलेमतो हुन्छ, त्यसको आडमा उनीहरूले मनपरि रूपमा वन फडानी गरी काठको अवैध कारोबार गर्छन्,' नाम उल्लेख नगरिदिन आग्रह गर्दै उनले भने, 'उनीहरूलाई ठूला हाकिमकै साथ भएपछि हामी साना कर्मचारीले बोल्न मिलेन ।'

विनय आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully