राजविराज — सप्तरीमा कोशी नदी हुँदै आठ क्विन्टलभन्दा बढी गाँजा तस्करी गर्न लागेका आरोपित अढाई वर्षपछि पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय भारदहले आइतबार राति जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका–१ भारदहका बुधन भनिने ३५ वर्षीय जोगानन्द मण्डललाई पक्राउ गरेको हो ।
मण्डलले गाँजा तस्करी गर्न लागको भन्दै आएको गोप्य सूचनाका आधारमा खटिएका प्रहरीले २०७९ पुस १४ मा कोशी ब्यारेजस्थित गोलदेखि ५ सय मिटर उत्तर–पूर्व कोशी भंगालको पूर्वी टापुबाट आठ क्विन्टल १० किलो गाँजा बरामद गरेको थियो । टापुमा बालुवामुनिबाट २७ वटा बोरामा सो गाँजा बरामद गरिएपनि तस्करी गर्न लागेका आरोपित मण्डल भने फरार थिए ।
पक्राउ गरिएका मण्डलमाथि लागुऔषध गाँजासम्बन्धी कसुरमा सात दिन म्याद थप लिइएको छ भने उनीमाथि लागेका अन्य मुद्दामा पनि अनुसन्धान भइरहेको डीएसपी जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।
