जनकपुरधाम — लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले पत्रमार्फत मधेश प्रदेश संसदीय दलको नेता चयन गरेर पठाएको तीन महिना बितिसक्यो ।
गएको चैत २४ गते नै अध्यक्ष ठाकुरले जयनुल राइनलाई दलको नेता बनाएर मधेश प्रदेशसभामा चिठी पठाएका थिए । तर, अहिलेसम्म राइनले दलको बैठक बसाउन सकेका छैनन् । राइनले तीन पटक बैठक आह्वान गरेपनि गणपूरक संख्या पुर्याउन सकेका छैनन् ।
दलको नेता विधान अनुसार चयन नभएको भन्दै लोसपाका एक सांसदले असन्तुष्टि जनाए । ‘दलको नेता विधान अनुसार चयन हुनुपर्छ,’ ती सांसदले भने, ‘डाइरेक्ट चयन गर्नु विधान विपरीत हो । गणतन्त्रमा टिके प्रथा स्वीकार्य हुँदैन ।’
हाल दलको नेता रहेका राइनको कार्यक्षमता पनि सन्तोषजनक नभएको ती सांसदको भनाइ छ । सुविधा छुटिरहेको हुनाले चयन गरौं भनेर शीर्ष नेताहरुले दबाब दिँदा समस्या निम्तिएको उनको जिकिर छ । ‘अब लिनुस् सुविधा । बैठक किन बस्ने ?,’ उनले भने, ‘जब नेता चयन पत्रबाट हुन्छ त बैठक पनि पत्रमा नै गर्नुस् ।’
अर्की एक महिला सांसदले बैठक बसाउन अवरोध नगरेको बताइन् । तर, आफ्नो हस्ताक्षरले दलको नेता चयन नभएको हुनाले बैठकमा नगएको बताइन् । ‘जब दलको विधानमै सांसदले आफू मध्येबाट एक जना दलको नेता चयन गर्ने प्रावधान छ तब कसरी पत्रमार्फत नेता बन्यो ?,’ उनले भनिन्, ‘विधान विपरीतको नेता मान्न सक्दिनँ ।’
अर्का एक जना सांसदले अध्यक्ष ठाकुरको निर्णयलाई मानेको तर बैठकमा जान नसक्ने प्रतिक्रिया दिए । विधान विपरीतको नेतालाई सभामुख रामचन्द्र मण्डलले मान्यता दिएको हुनाले उनले आपत्ति जनाए । ‘सरकारले अभिरामलाई दोषी ठहर गरेको छ,’ उनले भने,‘हामीले त्यो कुरा स्वीकार गरेका छैनौं । हामीले अभिरामको सम्मानमा ती ठाउँ खाली राखेका थियौं ।’
अध्यक्ष ठाकुरले नेता बनाएको राइनले भने सांसदहरुले साथ नदिँदा बैठकले पूर्णता नपाएको बताए । दुई पटक बैठक बसाउँदा गणपूरक नपुगेको उनले स्वीकार गरे । ‘पहिला पटकको बैठकमा साथीहरुले मौसम खराबको कारण उपस्थित हुन नसकेको फोन गरेर बताएका थिए,’ राइनले भने, ‘अर्को बैठकमा चार जना थियौं । तर सबै जनाको उपस्थितिमा बैठक बस्ने सहमति भएपछि बसेनौं ।’ सांसदहरुको मनमा असन्तुष्टि होला त्यही भएर नआएको उनले अनुमान गरे । तर, अर्को व्यवस्था नभए सम्मको लागि पार्टी अध्यक्षले आफूलाई दलको नेता बनाएको उनले बताए ।
मधेश प्रदेशसमा लोसपाका ९ जना सांसद थिए । दलको नेतासमेत रहेका अभिराम शर्मा सशस्त्र प्रहरीका असई थमन विक हत्या काण्डमा जिल्ला अदालत महोत्तरीबाट दोषी ठहर भएपछि गत वैशाख १८ गते मधेश प्रदेशसभाले निलम्बन गरेको थियो । उनलाई निलम्बन गरेपछि लोसपा नेताविहीन थियो । पटक–पटक दलको नेता बनाउन कसरत समेत भएको थियो ।
सांसद जितेन्द्र सोनललाई गत भदौ १४ गते बहुमत सांसदले दलको नेता बनाएका थिए । त्यसपछि पार्टी अध्यक्ष ठाकुरले भदौ ३० गते सोनललाई नेताको मान्यता नदिन प्रदेशसभालाई पत्र पठाएका थिए ।
