सिरहाको फाइनान्समा डकैती भएको दुई वर्षपछि मुख्य प्रतिवादी पक्राउ

असार १, २०८२

विनय आजाद

Two years after the robbery of Siraha's finance, the main accused was arrested

सिरहा — सिरहाको धनगढीमाई नगरपालिका-११, छपराडीस्थित गोर्खाज फाइनान्सको कार्यालयमा दुई वर्षअघि भएको डकैती घटनाका मुख्य प्रतिवादी पक्राउ परेका छन् ।

डकैतीका मुख्य प्रतिवादी लहान नगरपालिका-२० का ४५ वर्षीय श्रीदेव महतो पक्राउ परेका हुन् ।

महतोलाई बरियारपट्टी गाउँपालिका-३ चमार टोलबाट शनिबार साँझ लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, सिरहाले जनाएको छ । उनलाई सिरहा जिल्ला अदालतमा पेश गरिएको सिरहाका प्रहरी प्रवक्ता वीरेन्द्रकुमार पासवानले बताए ।

महतोलगायतको एक समूह २०७९ चैत १४ गते राति करिब सबा १२ बजेको समयमा नाकाब धारण गरेर गोर्खाज फाइनान्सको कार्यालयमा पसेका थिए । उनीहरूले कार्यालय भवनको तल्लो तल्लामा बस्ने कर्मचारीहरूलाई पेस्तोल तथा धारिलो हतियार देखाएर कुटपिट गर्दै नशाको सुईसमेत लगाई लुटपाट गरेका थिए ।

उनीहरूले सो क्रममा २ लाख ५७ हजार २ सय ७९ रुपैयाँ नगद र तीन थान मोबाइल लुटपाट गरी लगेका थिए । यस्तै, उनीहरूले कार्यालयको जिन्सी सामानहरूसमेत तोडफोड गरी १० लाख २८ हजार ७ सय १४ रुपैयाँको क्षति पुर्‍याएको प्रहरीको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।

यो घटनामा प्रहरीले चोरी, डाँका, शरीर बन्धक तथा संगठित अपराध शीर्षकमा ११ जनाविरुद्ध मुद्दा चलाएको थियो । जसमा यसअघि नै तीन जना पक्राउ परिसकेका छन् । यसमध्ये दुई जना पुर्पक्षका लागि कारागारमा छन् भने एक जना धरौटीमा रिहा भएका थिए ।

विनय आजाद आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully