राजपुरको नीति कार्यक्रम र बजेट पारित

५७ करोडको बजेट पेश

असार १, २०८२

शिव पुरी

Rajpur's policy program and budget passed

रौतहट — आगामी आर्थिक वर्ष २०८२/८३ का लागि रौतहटको राजपुर नगरपालिकाले आइतबार नीति कार्यक्रम र बजेट पारित गरेको छ ।

जिल्लामा यसपटक विवादरहित नगर सभा गर्ने राजपुर पहिलो नगरपालिका बनेको छ । राजपुरले सबैभन्दा पहिले नगर सभा गर्दै ५७ करोडको बजेट पेश गरेको हो ।

नवौं नगर सभामा समृृद्ध नगर र सुखी नगरबासीका लागि स्थानीय स्तरको समावेशी विकास, विद्यालयमा स्मार्ट कक्षा सञ्चालन गर्ने, वातावरण संरक्षणको लागि रुख बिरुवा रोप्ने अभियान थालिने, डिजिटल प्रशासनका साथै महिला सशक्तीकरण, युवालाई नगरमै रोजगारको प्रबन्ध, कृषकहरुको जीवनस्तर उकास्न सिँचाइको प्रबन्ध गरिने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ । नगर प्रमुख डा. मोहम्मद राजिक आलमले आगामी आर्थिक वर्षको बजेटमार्फत समृद्ध नगर बनाउने उद्‌घोष गरे ।

प्रमुख आलमले आगामी आर्थिक वर्षको कार्तिक मसान्त सम्ममा १५ श्य्याको नगर अस्पतालको भवन निर्माण गरी सञ्चालनमा ल्याइने सुनाए । नीति तथा कार्यक्रममा नगरपालिकाले जेष्ठ नागरिकसँग मेयर, बिरामीसँग मेयर, मेयरसँग शैक्षिक प्रतियोगिता, बालश्रम न्यूनीकरण र बालविवाह मुक्त नगरपालिका बनाउने कार्य गरिने उल्लेख छ । 

चालु आर्थिक वर्षको योजना तर्जुमाका लागि हरेक वर्षको असार १० गते भित्र सबै स्थानीय तहले नगरसभा सम्पन्न गरिसक्नु पर्ने ऐनमा व्यवस्था छ । नगर सभामार्फत चालु आर्थिक वर्ष २०८२/८३ का लागि स्थानीय तहले बजेट ल्याउनु पर्छ । यही कारण चालु आर्थीक वर्षका लागि असार १० गते नगरसभा गरिसक्नु पर्ने संवैधानिक व्यवस्था छ । सभा सम्पन्न गरेर प्रस्तुत बजेट असार मसान्तभित्र बहुमत सदस्यबाट पारित गर्नुपर्छ । सभा हुन नसके कोष तथा नियन्त्रणको कार्यालयले बजेट निकासा दिन मिल्दैन । यसले विकास निर्माण लगायतको काम प्रभावित हुन्छ । कर्मचारीले तलबसमेत पाउँदैनन् ।

नगर सभा अघि राजस्व परामर्श समितिको बैठक बसेर छलफल गर्नुपर्छ । त्यसपछि कार्यक्रम तर्जुमा समितिले निर्णय गर्छ । आगामी आर्थिक वर्षको व्यय बजेट पारित गर्न अगावै नगरपालिकाको बैठक बसी नीति तथा कार्यक्रम पास गराउनु पर्छ ।

शिव पुरी उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully