महोत्तरीको रामगोपालपुरमा किशोरीमाथि सामूहिक बलात्कार, दुई जना पक्राउ

असार १, २०८२

सन्तोष सिंह

Gang rape of girl in Ramgopalpur of Mahottari, two arrested

महोत्तरी — रामगोपालपुरमा किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

शुक्रबार राति १४ वर्षीया किशोरीलाई बलात्कार गरेको जानकारी आएपछि प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोतरीका प्रहरी उपरीक्षक हेरम्ब शर्माले बताए ।

'किशोरीको अभिभावकले दिएको उजुरीका अधारमा तत्कालै आरोपितहरूलाई नियन्त्रणमा लिएका छौं,' प्रहरी उपरीक्षक शर्माले भने, 'किशोरी र आरोपितको स्वास्थ्य परीक्षण गरिएको छ । प्रारम्भिक अनुसन्धान, घटनास्थलको अवस्था र स्वास्थ्य परीक्षणले बलात्कर भएको देखिन्छ । अनुसन्धानबाट थप विस्तृत खुल्ने छ ।'

प्रहरील पक्राउ परेका दुवै जनालाई जबर्जस्ती करणी मुद्दा दर्ता गरी थप अनुसन्धान गरिरहेको शर्माले बताए । शुक्रबार राति सडकबाट जबर्जस्ती मोटर साइकलमा राखी रामगोपालपुर नगरपालिका–४स्थित पानी उद्योगमा ल्याएर दुई जनाले बलात्कार गरेको प्रहरीले जनाएको छ ।

सन्तोष सिंह कान्तिपुरका महोत्तरी संवाददाता हुन् ।

Link copied successfully