दुई वर्षअघिदेखि लागुऔषध सेवन गर्न थालेका साह बिस्तारै यसको कुलतमा फस्दै गए । भारतीय कारोबारीको विश्वास जितेपछि भने उनले नेपालमा ब्राउन सुगर सप्लाई गर्न थाले ।
महोत्तरी — कारमा गुडिरहेका जलेश्वर नगरपालिका–२ का ३२ वर्षीय सिकेन्द्र साह बर्दिबास आउँदै गर्दा पक्राउ परे । जेठ २१ गते साँझ बर्दिबास नगरपालिका–८ रामानन्द चोकमा लु २ च २१२४ नम्बरको कारसहित प्रहरीले उनलाई नियन्त्रणमा लियो । उनको गाडीभित्र चकलेटको बट्टामा खैरो ब्राउन सुगर ५० ग्राम प्रहरीले बरामद गरेको छ ।
साह सीमावर्ती भारतीय बजार साहरघाटबाट बर्दिबास आएको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनी स्कुटीमा भारतीय बजार पुगेका थिए । फर्किने बेलामा स्कुटी बिग्रिएपछि अटोमा ब्राउनसुगर लिएर जलेश्वर आएका थिए । जलेश्वर आएर सम्सीस्थित आफन्तको घरमा जान कार लिएर बर्दिबास आउने क्रममा उनी समातिएका हुन् ।
ब्राउन सुगर ल्याउन प्रयोग भएको स्कुटी अझै भारतमा छ । उनले भारतमा प्रतिग्राम २ हजारका दरले नेपाली १ लाख रुपैयाँमा खरिद गरेको ब्राउन सुगर बर्दिबास ल्याएर ३ लाख ५० हजारमा बेच्ने गरी 'डिल' गरेको खुलेको छ । भारतमा खुद्रा प्रतिग्राम ३ हजारको दरले उपलब्ध हुने ब्राउन सुगर कारोबारीले २ हजारको दरले खरिद गर्ने गरेको प्रहरी अनुसन्धानले देखाएको छ । यसरी खरिद गरिएको ब्राउन सुगर बर्दिबासमा ३ देखि ५ हजार र काठमाडौं पुर्याएर ७ देखि १० हजारमा बेच्ने गरेको अनुसन्धानमा संलग्न प्रहरीको भनाइ छ ।
साहलाई इलाका प्रहरी कार्यालय बर्दिबासमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ । उनले २ वर्षअघिदेखि लागुऔषध सेवन गर्न थालेका थिए । बिस्तारै उनी महिनाथपुरका मामा नामले परिचित भारतीय कारोबारीको विश्वासिला बन्दै गए । पछिल्लो समय उनी नेपालमा ब्राउन सुगर सप्लाई गर्न 'भरिया' को रुपमा सक्रिय थिए ।
महिनाथपुरबाट सानो परिमाणको कारोबार गर्दागर्दै आफ्नै नेटवर्क विस्तार गरी धनुषा तिनाकौरियाको तस्करी रुट छोडेर साहरघाटका राजाभाइ भन्नेसँग मिलेर केही महिनायता उनी महोत्तरीमा कारोबार थालेका थिए । जलेश्वरमा खुद्रा बिक्रीसँगै चामलको बोरामा लुकाएर काठमाडौंसम्म साहले ब्राउन सुगर पठाएकोे अनुसन्धान क्रममा खुलेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।
उनी जलेश्वरमा सुनचाँदी व्यवसाय सञ्चालन गर्छन् । यसैको आडमा भारतदेखि काठमाडौंसम्म लागुऔषधको व्यापार विस्तार गरेका थिए ।
११ महिनामा लागुऔषध सम्बन्धी १८ मुद्दा
बिहीबार साँझ इलाका प्रहरी कार्यालय बर्दिबासको थुनामा रहेका १९ जनामध्ये ब्राउन सुगरसहित पक्राउ परेका साह लगायत १६ जना भने लागुऔषध मुद्दाका आरोपित थिए ।
इलाका प्रहरी कार्यालय बर्दिबासको हिरासत कक्ष सानो र अनुसन्धानका लागि पर्याप्त प्रमाण नपुग्ने भएर सेवनकर्ता र सानो परिणाम लागुऔषध बरामद हुँदा अभिभावकको जिम्मा लगाउनेको संख्या पनि दिनदिनै बढ्दो छ । पटकपटक लागुऔषध सेवन गर्दा पक्राउ पर्नेलाई सुधार केन्द्रमा राखिने गरेको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायव उपरीक्षक विकस बमले बताए ।
बर्दिबास प्रहरीले पछिल्लो ११ महिनामा १८ लागुऔषधको मुद्धा दर्ता गरेको छ । एक महिनामा मात्रै ९ मुद्दामा १३ जना कारोबारी पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बर्दिबासको प्रमुख भएर प्रहरी नायव उपरीक्षक विकास बम आएपछि वैशाखयता बर्दिबासबाट लागुऔषध गाजा कारोबार गर्ने ७ जना, खैरो हेरोइन कारोबारी ५ र अन्य लागुऔषध १७ बोतलसहित १ जना पक्राउ परेको छ ।
जनशक्ति र स्रोतसाधन अभावमा बर्दिबासबाट सम्भव नभएपछि सिन्धुली प्रहरीलाई समेत सूचना दिएर लागुऔषध तस्करी नियन्त्रण गर्न प्रयास गरिरहेको प्रहरी नायव उपरीक्षक बमले बताए । पक्राउ पर्ने सेवनकर्तालाई थुनामा राख्ने ठाउँ नै छैन, प्रहरी नायव उपरीक्षक बमले भने, ‘बर्दिबासमा लागुऔषध बिक्री र सेवन समान्यजस्तै बनेको छ । कतिलाई थुन्ने ? पक्राउ परेका सेवनकर्तालाई छोडाउन आउने दबाब थेग्नै नसक्ने हुन्छ । दुर्व्यसनमा लागेकाहरुलाई प्रहरी हिरासतमा नराखी सुधार केन्द्रमा पठाउन थालेको छु ।’ सचेतना र कारबाहीले मात्रै बर्दिबासमा लागुऔषधको सञ्जाल तोड्न चुनौती भएको उनले बताए ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरीक्षक शैलेन्द्रकुमार भट्टका अनुसार महोत्तरीमा पछिल्लो ११ महिनामा लागुऔषधको ५३ मुद्दामा ७१ जना पक्राउ परेका छन् । पक्राउ परेका व्यक्तिहरुले लागुऔषध ओसार्न प्रयोग गरेको १७ मोटरसाइकल, ४ ट्रक, पिकअप १, कार २, एम्बुलेन्स १ र स्कारपियो १ वटा प्रहरीले बरामद भएको छ ।
