सासू र ससुरालाई नियन्त्रणमा लिएर अनुसन्धान हुँदै, पति सम्पर्कविहीन
राजविराज — तीन वर्षको प्रेम सम्बन्धपछि विवाह गरेकी सप्तरीको हनुमानननगर कंकालिनी नगरपालिका–२ सकरदहीकी २० वर्षीया सनिशा खंग बुधबार बिहान अस्पतालको शय्यामा पीडाले छटपटाइरहेकी थिइन् । चार महिनाकी गर्भवती रहेकी सनिशालाई एकाबिहानै गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याइएको थियो ।
उनकी सासू सोही ठाउँकी ४४ वर्षीया झुलफुलदेवी खंग र अर्का एक जनाले जबरजस्ती सनिशालाई गर्भवतनको औषधि खुवाएपछि पेटको दुखाईले अचेत अवस्थामा पुगेकी उनलाई छिमेकीको सहयोगमा अस्पतालसम्म ल्याइयो । तर, ढिलो भइसकेकोले सनिशाको गर्भमा रहेको बच्चा जोगाउन नसकिएको उपचारमा संलग्न चिकित्सक डा. दिलिपकुमार साहले बताए । ‘बिहान साढे ८ बजेतिर मृत अवस्थामा हामीले १७ हप्ताको बच्चा निकाल्यौं’, उनले भने ।
उनका पती २२ वर्षीय शिवजी खंग अढाई महिनादेखि सनिशाको सम्पर्कमा छैनन् । अस्पतालको २१ नम्बर शय्यामा छटपटाइरहेकी सनिशाले भनिन्, ‘प्रेमीले धोका दिँदा घर न घाटकी भइसकेकी छु, बच्चाको लागि बाँच्न खोजेको थिए तर त्यो पनि रहन दिएन ।’
उनले मंगलबार राति करिब ११ बजेतिर सासू झुलफुलदेवी र छिमेकी सासू पर्नेले जबरजस्ती गर्भपतनको औषधि खुवाएकी बताइन् । ‘दुवै जनाले औषधि खुवाएपछि मोबाइल पनि खोजिहाल्दा कसैसँग समयमा सम्पर्क पनि गर्न सकिनँ,’ उनले थपिन्, ‘जसोतसो गरेर तीन घण्टापछि घरबाट निस्किएर छिमेकीसँग सहयोग मागे, असाध्यै पेट दुखिरहँदा छिमेकीकै सहयोगमा अस्पतालसम्म आएँ, तर बच्चा जोगाउन नसक्दा मर्नु न बाच्नु भइरहेको छ ।’
‘अब आफ्नो कोहीँ रहेन’
एक वर्षअघि उनका प्रेमी शिवजीले नै जोडबल गरेपछि दुवै जनाले कंकालिनी भगवती मन्दिरमा प्रेम विवाह गरेका थिए । तत्काल अलग–अलग बसेर पढाई पूरा भएपछि सँगै बस्ने उनीहरुबीच सहमति थियो । तर, चैतको पहिलो साता शिवजीले सनिशालाई आफ्नै घरमा राख्ने भन्दै घर लगे पनि शिवजीका बुवा परमेश्वर खंग र आमा झुलफुलदेवीले उनलाई बुहारी स्वीकार गर्न तयार भएनन् ।
‘त्यहाँ हामी अलग–अलग सुत्यौं, ८/९ दिनसम्म त्यस्तै बसेँ,’ सनिशाले भनिन्, ‘पछि शिवजी आफ्नी दिदीकोमा दौलतपुर (विहार) जाने भएपछि मलाई पनि जान भन्यो, तबसम्म उनीहरुलाई म गर्भवती रहेको कुरा जानकारी भइसकेको थियो ।’
१२ दिन उनकी दिदीको ससुराली (दौलतपुर) मा बसेकी बताउँदै सनिशाले त्यहाँ पनि दिल्ली लगेर गर्भपतन गराउने योजना बनाएपछि त्यहाँबाट भागेर घर फर्किएको बताइन् । ‘चैत ११ गते राति फर्किँदा घरमा पस्नै दिएन अनि हनुमाननगर प्रहरी चौकीमा पुगेर ती सबै घटना बताए, अर्को दिन त्यहाँबाट जिल्ला प्रहरी कार्यालय पनि पुगे,’ उनले भनिन्, ‘चैत १२ गतेतिर प्रहरीमा कागज बन्यो र प्रहरीले शिवजीको घरमा बस्ने वातावरण बनाइदियो तर त्यसपछि शिवजी र उनका बुवाआमा घरमा ताल्चा नै लगादिएर हिँडिहालेछन्, प्रहरीले ताल्चा फुटाएर घरमा बसाए पनि उनीहरुले खाने कुरा सबै अन्यत्र नै सारिसकेका थिए ।’
तीन महिनाभन्दा बढी समयदेखि मागेरै गुजारा चलाउँदै आएकी सनिशालाई जबरजस्ती औषधि खुवाएर गर्भवतन गराउँदा उनी थप विच्चलीमा परेकी छन् । ‘मेरा बुवाआमाले अनुहार नै नहेर्ने कसम खाइसकेकाले त्यहाँ जाने ठाउँ नै रहेन,’ उनले थपिन्, ‘धोखेवाज पतिका कारण न उच्च कक्षासम्म पढ्न पाएँ, न कोहीँ आफ्नो रह्यो ।’ सनिशाले कक्षा १२ सम्म पढेर छाडेकी छन् ।
एसपी ढकेन्द्र खतिवडाले सनिशाका सासूससुरालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको बताए । ‘गर्भपतनको औषधि कसैले खुवायो की आफैंले खाइन् भन्ने विषयमा पनि अनुसन्धान भइरहेको छ’, उनले भने ।
